काठमाडौं– पोखराका उद्योगी–व्यवसायीले बैंक तथा वित्तीय संस्थाको धरपकडविरुद्ध संघर्षको घोषणा गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको अगुवाइमा बिहीबार सम्पन्न भेलाबाट पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष संयोजक तथा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सहसंयोजक रहेको संघर्ष समितिसमेत गठन गरेको छ । बैंक तथा वित्तीय संस्थाले कर्जाका साँवा र ब्याजका लागि भइरहेका धरपकडविरुद्ध संयुक्त संघर्षका कार्यक्रमको घोषणा गरिएको हो ।

संघर्ष समितिमा पोखरा र लेखनाथस्थित विभिन्न वस्तुगत संघका अध्यक्षहरू सदस्य रहेका छन् । बैंक तथा वित्तीय संस्थाका कर्मचारीबाट साँझ–बिहान र रातमा पनि टेलिफोन गरेर मानसिक तनाव दिने, घर र पसलमै पुगेर बालबालिकाका सामु धम्क्याउने, पसलमा दिनभर बिक्री भएको पैसा बोकेर हिँड्ने काम भएपछि बाध्य भएर संघर्ष गर्ने निर्णय गरिएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले बताए ।

संघर्ष समितिले बैंक तथा वित्तीय संस्थाबाट भएका यस्ता कामको सामूहिक प्रतिवाद गर्ने बताउँदै उनले कसैमाथि बैंक तथा वित्तीय संस्थाले ज्यादती गरेको भए संघर्ष समिति वा पोखरा र लेखनाथ उद्योग वाणिज्य संघलाई जानकारी दिन अनुरोध गरे ।

बैंक तथा वित्तीय संस्थाबाट एकाएक कर्जाको ब्याज बढाउँदा धेरै उद्योगी–व्यवसायी मर्कामा परेका र तनावकै कारण आत्महत्या गर्न बाध्य हुनुपरेको भन्दै उनले ज्यादती तत्काल रोकिनुपर्ने बताए । विषम परिस्थितिम कुनै बैंक तथा वित्तीय संस्थाले कुनै व्यवसायीको धितो लिलामी प्रक्रिया अगाडि बढाए त्यसको पनि प्रतिकार गरिने बताउँदै अध्यक्ष प्रजापतिले समितिको आउँदो बैठकले संघर्षका थप कार्यक्रम र स्वरुप निर्धारण गर्ने जानकारी दिए ।

भेलामा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले कुनै बैंक तथा वित्तीय संस्थाबाट धम्कीपूर्ण टेलिफोन र पत्र आए त्यसको जानकारी संघर्ष समिति एवं आफूलाई दिन आग्रह गरे । दुःख दिने बैंक तथा वित्तीय संस्थालाई परिआए एकमुष्ट लालपुर्जा लगेर बुझाइने उनले चेनावती दिए ।

महासंघका केन्द्रीय सदस्य दामु अधिकारीले व्यवसायी उठ्नै नसक्ने अवस्थामा पुगेको बेला बैंक तथा वित्तीय संस्थाको सुदखोर व्यवहार मान्य नहुने बताउँदै कर्जाको समयसीमा बढाउन र ब्याजदर घटाउन माग गरे ।

लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बलराम ढकालले बैंकहरूबाट कर्जामा एकाएक बढाइने ब्याजका कारण व्यवसायी मर्कामा परेको बताए । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष वसन्त उदास, वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, महासचिव बलराम आचार्य, लेखनाथ उद्योग वाणिज्य संघका उपमहासचिव जानुका अधिकारीसहित विभिन्न वस्तुगत संघका अध्यक्ष तथा पदाधिकारीले बोलेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय