काठमाडौं– काठमाडौंको नयाँ बसपार्कदेखि कुलेश्वरसम्म विष्णुमति करिडोर कालोपत्रे गरिएको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले विष्णुमति नदी किनारामा पर्खाल लगाउने तथा कालोपत्रेको काम सुरु गरेको हो ।

काठमाडौंको नयाँ बसपार्कदेखि कुलेश्वरसम्मको सडक मर्मत तथा कालोपत्रेको जिम्मा पाएको सिएम–पिआर जेभी निर्माण सेवाले नदी वरपर नयाँ पर्खाल लगाउने तथा कालोपत्रे गर्ने काम धमाधम गरिरहेको छ ।

निर्माण सेवाका इन्जिनीयर महेश्वर खड्काले २०७८ जेठ ७ गतेभित्र सम्पन्न गर्ने गरी नयाँ बसपार्कदेखि कुलेश्वरसम्मको ३.५ किलोमिटर सडक निर्माण कार्य भइरहेको जानकारी दिए ।

‘हालसम्म नयाँ बसपार्कदेखि बालाजुसम्मको एक किलोमिटर र शोभाभगवती क्षेत्रमा ५०० मिटर सडक कालोपत्रे सम्पन्न भइसकेको छ,’ उनले भने ।

उक्त सडक कालोपत्रेसँगै टोखादेखि नयाँ बसपार्क, बालाजु, शोभाभगवती हुँदै कालीमाटीसम्म सवारी आवतजावतमा सहज हुनेछ ।

नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक सर्वेन्द्र खनालले २०७६ चैत २१ गते उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रणका लागि कार्ययोजना तयार गर्दै उपत्यकाका मुख्य खोला किनारामा करिडोर निर्माणको काम अगाडि बढाएका थिए ।

सोही समयमा विष्णुमति करिडोरसँगै बालकुमारी पुल, गोपीकृष्ण पुल र भत्केको पुलमुनिको करिडोरसमेत सञ्चालनमा ल्याइएको थियो ।

नयाँ बसपार्क–कुलेश्वर करिडोर निर्माणका लागि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको १३ करोड ४९ लाख २५ हजार ५४६ रकम खर्च हुनेछ । उक्त करिडोरमा नयाँ बसपार्क, शोभाभगवती, डल्लु, कुलेश्वरमा चारवटा अन्डरपास हुनेछन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव पुण्यप्रसाद (सरोज) सिटौलाले नेपालको राष्ट्रिय बसपार्क क्षेत्रमा हुने सवारी जाम कम गर्न करिडोरले महत्त्वपूर्ण सहयोग पुग्ने बताए । ‘करिडोर निर्माणसँगै विष्णुमति करिडोरका सडकमा हुने सवारी जाममा कमी आउँछ,’ उनले भने ।

यातायात व्यवस्था विभागका अनुसार हाल नेपालभर ३५ लाखभन्दा बढी सवारी साधन सञ्चालनमा छन् भने काठमाडौं उपत्यकामा मात्र १२ लाखभन्दा बढी सवारी साधन सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर