काठमाडौं– नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र उच्च अधिकारीले बुधबार विभिन्न लगानीकर्ता संघ–संस्थाका प्रमुखहरुसँग धितोपत्र बजारको अवस्था र बजार विकास तथा विस्तारका लागि बोर्डले गरेका कामका विषयमा छलफल भएको छ ।

बोर्डको कार्यालयमा सम्पन्न छलफलमा उद्योग वाणिज्य महासंघको पुँजी बजार फोरमका सभापति अम्बिकाप्रसाद पौडेल, नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार, नेपाल पुँजी बजार लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल, नेपाल पुँजी बजार संघका अध्यक्ष राधा पोखरेल, लगानीकर्ता दबाब समूहका संयोजक हरि ढकालको उपस्थिति रहेको बोर्डले जनाएको छ ।

छलफलमा बोर्ड अध्यक्ष ढुंगानाले पछिल्लो समय धितोपत्र बजारमा भएको प्रविधिको विकाससँगै प्राथमिक र दोस्रो बजारमा लगानीकर्ताको पहुँच विस्तार भई बजार गतिशील भएको बताए । कोरोना महामारीको प्रभावको बीचमा समेत आर्थिक क्रियाकलाप चलायमान बनाउन धितोपत्र बजारले महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो । उनले दोस्रो बजार कारोबार सहज भएको तथा विगत लामो समयदेखि अन्योल रहेको पुँजीगत लाभकरको विषय स्पष्ट भएसँगै लगानीकर्ताको मनोबल बढेको बताए ।

बजारको स्थायित्वका लागि संस्थागत लगानीकर्ताको बलियो उपस्थिति हुनुपर्ने र यसका लागि बोर्डले उपयुक्त कानुनी व्यवस्था गरेपछि संस्थागत लगानीकर्ताको प्रवेश भइरहेको धारणा राखे । उनले सामाजिक सुरक्षा कोष तथा अन्य कोषलाई धितोपत्र बजारमा प्रवेश गर्न आवश्यक सहजीकरण भइरहेको, गैरआवासीय नेपालीको धितोपत्र बजार प्रवेश सम्बन्धमा बोर्डले बाह्य विज्ञमार्फत अध्ययन गराइरहेको र निकट भविष्यमै सोसम्बन्धी प्रतिवेदन पेस हुने बताए ।

त्यस्तै, उनले सूचीकृत संगठित संस्थाको विवरण प्रवाह थप पारदर्शी बनाउने, लगानीकर्ताको पहुँच विस्तार गर्ने, अन्य नियामक निकायसँग समन्वय गर्ने, लगानीकर्ता संरक्षण कोषको प्रभावकारी सञ्चालन गर्न नेपाल सरकार, अर्थ मन्त्रालय र कम्पनी रजिस्ट्रारको कार्यालयसँग समेत समन्वय गरी आवश्यक कार्य अगाडि बढाउने लगायतका कार्य भइरहेको जानकारी दिए ।

छलफलमा लगानीकर्तासम्बद्ध संस्थाका प्रमुखहरुले वर्तमान धितोपत्र बजारको अवस्थाको समीक्षा गर्दै पछिल्लो समयको प्रगतिमा सन्तोष व्यक्त गरेको बोर्डको विज्ञपितमा उल्लेख छ । साना लगानीकर्ताको हित हुने गरी नीति तर्जुमा गर्न बोर्डलाई सुझाव दिँदै अनलाइन प्रणालीको सुधार, सर्वसाधारणको लगानी आकर्षित गर्न आवश्यक पूर्वाधारको व्यवस्था, ब्रोकरको पहँुच विस्तार तथा लगानीकर्ता साक्षरता लगायत विषयमा बोर्डले थप प्रभावकारी भूमिका खेल्नुपर्नेमा उनीहरुले जोड दिएका थिए । (प्रशिक्षार्थी)

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय