काठमाडौं– सरकारले यही फागुन २३ गतेदेखि ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य तथा संख्या मन्त्रालयमा इन्सिडेन्ट कमान्ड सिस्टमको बुधबार बसेको बैठकले फागुन २३ गतेदेखि ६० वर्ष वा सोभन्दा माथिका नागरिकलाई खोप लगाउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

भारत सरकारले उपलब्ध गराएको कोभिड–१९ विरुद्धको ‘कोभिसिल्ड’ खोप गत माघ १४ गतेदेखि लगाउन थालिएको हो ।

पहिलो चरणमा प्राथमिकतामा परेको स्वास्थ्यकर्मी, अग्रपंक्तिमा काम गरेका सुरक्षाकर्मी, एम्बुलेन्स तथा शवबाहनका चालक तथा सहचालक, महिला स्वास्थ्य स्वयंसेविकालगायतलाई यही माघ १४ गतेदेखि २४ गतेसम्म सो खोप लगाइएको थियो । यही फागुन २ गतेदेखि दोस्रो प्राथमिकतामा परेका व्यक्ति जिल्लास्तरीय सरकारी कार्यालयका कर्मचारी, बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहका कर्मचारीलाई खोप लगाउन थालिएको छ ।

यसअघि माघ २६ देखि ३० गतेसम्म काठमाडौंमा कूटनीतिक नियोगका पदाधिकारी र कर्मचारी तथा पत्रकारलाई समेत खोप लगाइएको थियो ।

मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार अहिलेसम्म दुई लाख ६३ हजार ४८२ जनाले खोप लगाइसकेका छन् । पहिलो चरणमा प्राथमिकता परेका ८४ प्रतिशतले खोप लगाएको उनले बताए।

प्रदेश नं १ मा ७२ प्रतिशत, प्रदेश नं २ र वाग्मती प्रदेशमा ८४ प्रतिशत, गण्डकी प्रदेशमा सतप्रतिशत, लुम्बिनी प्रदेशमा ८४ प्रतिशत, कर्णाली प्रदेशमा ७२ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९१ प्रतिशतले पहिलो चरणमा पहिलो प्राथमिकता परेका व्यक्तिले खोप लगाएका छन् । उनले खोप सुरक्षित भएकाले ढुक्कसँग लगाउन अनुरोध गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय