काठमाडौं– सरकारी स्वामित्वको नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएसँगै वायुसेवा सञ्चालकहरुले हवाई भाडा बढाएका छन् ।

उनीहरुले फ्युल सरचार्जको नाममा हवाई भाडा बढाएका हुन् । वायुसेवा सञ्चालक संघ नेपालले शुक्रबार एक विज्ञप्ति जारी गरी साबिकको भाडामा फ्युल सरचार्ज थप गरेको जनाएको छ । उक्त सरचार्जलाई उड्डयन क्षेत्रको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरिसकेको संघले जनाएको छ ।

संघका अनुसार सबैभन्दा बढी सरचार्ज काठमाडौं–धनगढी रुटका यात्रुले बोक्नुपर्नेछ । सो रुटमा ९० रुपैयाँ सरचार्ज थपिएको छ भने सबैभन्दा कम १० रुपैयाँ बढेको छ । १० रुपैयाँ सरचार्ज थपिने रुटमा डोल्पो–रुकुम सल्ली, डोटी–साँफेबगर र लुक्ला–फाप्लु छन् ।

नेपाल आयल निगमले फागुन ४ गते पेट्रोल, मट्टीतेल, डिजेल र हवाई इन्धनको मूल्य प्रतिलिटिर दुई रुपैयाँका दरले बढाएको थियो ।

इन्धनको मूल्य घटबढ हुँदा हवाई भाडामा लिने सरचार्ज घटबढ गर्ने सहमति अनुसार संघले सरचार्जबारे निर्णय लिएको जारी विज्ञप्तिमा उल्लेख छ । (प्रशिक्षार्थी)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय