
लन्डन– बेलायतका राजकुमार ह्यारी मान पदविमुक्त भएका छन् । दोस्रो सन्तान जन्माउने तयारीमा रहेकी उनकी श्रीमती मेघन मर्केलले राजदरबार फर्किन अस्वीकार गरेपछि ह्यारी र मेघनको पदवी गुमेको हो ।
केही महिना अगाडि उनीहरुले नै मान पदवी त्यागेको घोषणा गर्दै अमेरिका बसाइँ सरे पनि दरबारको तर्फबाट अहिलेसम्म कायमै राखिएको थियो ।
तर शुक्रबार महारानी एलिजावेथ द्वितीयाले उनीहरुको मान पदवी खारेज भएको घोषणा गरेको समाचारमा जनाइएको छ ।
बेलायती राजदरबार बकिंघम दरबारले अहिलेसम्म विचाराधीन अवस्थामै राखेको उनीहरुको मान पदवी खारेज भएको घोषणा गरेपछि यसलाई बेलायती राजसंस्थाको इतिहासमा अविस्मरणीय घटनाको रूपमा लिइएको छ ।
महारानी एलिजावेथ द्वितीयाले ह्यारी दम्पतीसँग बेलायती राजपरिवारको अब राजनीतिक तथा सार्वजनिक सम्बन्ध नरहेको उल्लेख गरेको अधिकारीहरूले जनाएका छन् ।
राजपरिवारको सदस्यका रूपमा उनीहरूको अब कुनै जिम्मेवारी, दायित्व र अधिकार तथा भूमिका पनि नहुने दरबारले जनाएको छ ।
गत वर्ष मार्चमा ह्यारी र मेघनले सामाजिक सञ्जालहरूमा पनि आफ्नो अन्तिम पोस्ट गर्दै बेलायती राजपरिवारको वरिष्ठ सदस्यका रूपमा आफ्नो भूमिका छोड्ने घोषणा गरेका थिए ।
उनीहरू अहिले सामाजिक सञ्जालहरुबाट पनि टाढा छन् । सामाजिक सञ्जालमा धेरै घृणा सहनुपरेको कारण ह्यारी र मेघनले ट्विटर, इन्स्टाग्राम, फेसबुकलगायत सामाजिक सञ्जालमा आफूहरू प्रस्तुत नहुने निर्णय गरेको टाइम्स अफ लन्डनले लेखेको थियो । दुवैजना सामाजिक सञ्जालमा चाँडै फर्किहाल्ने संकेत देखिएको छैन ।
हलिउड अभिनेत्री मेघनसँगको प्रेम सम्बन्धलाई ह्यारीले बैवाहिक सम्बन्धमा परिणत गरेका थिए । उनीहरुका अहिले एक छोरा छन् । अर्को जन्माउने निश्चित भइसकेको जनाइएको छ ।