
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग ६ लाख घुस लिएको अभियोगमा मालपोत कार्यालय बाराका प्रमुख मनोजकुमार खनाल र लेखापढी व्यवसायी बद्रीप्रसाद बडाललाई पक्राउ गरेको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागमा रोक्का छ भनी सर्जमिन मुचुल्का गरी सिफारिस पठाई फुकुवा गरिदिने भन्दै घुस मागेको पाइएको छ ।
उनीहरूले तुरुन्तै जग्गा पास गरिदिने र उक्त काम गरिदिए बापत सेवाग्राहीसँग अतिरिक्त रकम मागेका थिए । आयोगको टंगाल कार्यालयबाट गएको टोलीले ६ लाख घुस लिइरहेको अवस्थामा जितपुर सिमरा उपमहानगरपालिका २२ स्थित जर्गा होटलबाट उनलाई पक्राउ गरिएको हो ।
उनीहरूलाई आयोगले शुक्रबार पक्राउ गरे पनि अनुसन्धान जारी रहेकाले शनिबार सार्वजनिक गरिएको प्रवक्ता रिसालले जानकारी दिए । आरोपीद्वयमाथिको अनुसन्धान जारी रहेको आयोगको भनाइ छ ।