कलंकी–धोबीखोला सडक विस्तारका लागि निर्माणस्थल खालि गर्ने काम दुई प्रतिशत बाँकी छ । चीन सरकारको सहयोगमा विस्तार गरिने सो सडकमा पर्ने महाराजगन्ज क्षेत्रमा पर्ने केही घरका कारण निर्माणस्थल पूरै खालि भइनसकेको हो ।

ती घरको मुआब्जाका विषयमा छलफल भइरहेको काठमाडौं चक्रपथ सुधार योजनाले जनाएको छ । योजनाले जिल्ला प्रशासन कार्यालय र काठमाडौं महानगरपालिका लगायत निकायसँग छलफल गरिरहेको योजनाका प्रमुख अर्जुन सुवालले जानकारी दिए । उनका अनुसार त्यहाँ रहेका घरमध्ये सात वटाको सहरी विकास तथा भवन निर्माण विभागबाट क्षतिपूर्तिको मूल्यांकन प्राप्त भएको छ । उनले भने, ‘मूल्यांकन भइसकेको घरको प्रक्रिया अघि बढाइनेछ ।’

१२ घरको घरधनीसँग सम्पर्क हुन नसकेको बताइएको छ । वडा कार्यालयले ती घरधनीसँग सम्पर्क गर्न खोजे पनि नसकेको उनको भनाइ छ । वडाध्यक्षले सम्पर्क गर्दा कतिपय व्यक्ति विदेशमा रहेकाले पनि सम्पर्क हुन नसकेको हो । घरहरु चीन सरकारले निर्माण गर्ने आठ लेनभित्रै भएकाले निर्माण अघि बढाउन समस्या हुने उनले जानकारी दिए । ती घरहरुमा नक्सा लिएर मूल्यांकन गर्ने कि भन्ने छलफल भएको छ । कतिपय घर नक्साभन्दा फरक हुन सक्ने भएकाले त्यहीँ जाँदा मात्रै सही कुरा आउने उनले बताए । ‘घरधनीले पछि विवाद निकाल्न सक्ने सम्भावना छ,’ उनले भने ।

जम्मा ११.६ किलोमिटरको सडकमध्ये २४४ मिटरमा निर्माणस्थल खालि गराउन नसकिएको योजनाले जनाएको छ । अरू कतिपय संरचना हटाइरहे पनि त्यसले चिनियाँ टोलीलाई निर्माण अघि बढाउन बाधा नपुग्ने प्रमुख सुवालले बताए । सो सडकमा विद्युत् प्राधिकरणले तार जमिनमुनि राख्ने काम गरिरहेकामा त्यो मुख्य सडकबाहेकको सहायक सडकमा पर्छ । प्राधिकरणले तार सार्ने काम गत वर्ष सुरु गरेको थियो । बाँकी स्थानमा पनि ठेक्का सम्झौता भइसकेको छ । उनले भने, ‘मुख्य लेनमा काम भइरहँदा पनि सहायक लेनको काम गर्न सकिन्छ ।’

चक्रपथ विस्तारका लागि अहिले यस खण्डमा रूख काट्ने, बिजुलीका पोल सार्ने, खानेपानीका पाइप सार्नेलगायत आवश्यक तयारीका काम गत वर्ष सुरु भएको थियो । सडक पहिले खालि गराएपछि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) गरेर निर्माणको काम सुरु हुने सडक विभागले जनाएको छ । यसअघि कोटेश्वर–कलंकी सडक निर्माणका क्रममा विभिन्न अवरोध आएकाले यस सडकको निर्माण सुरु हुनुअघि नै अवरोध हटाएर काम गर्न लागिएको हो ।

अहिले उक्त सडकको अधिकार क्षेत्रमा रहेका रूख काटिएको छ भने झण्डै ४०० पोल सार्ने काम सकिएको छ । उनका अनुसार विद्युत् प्राधिकरणले पोल त्यहाँबाट सारिरहेको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडमार्फत खानेपानीका पाइप सार्ने काम भइरहेको छ । सडकको अधिकार क्षेत्रमा घरसँगै अस्थायी टहरालगायत संरचना हटाउनु पहिलो चरणको विस्तारमा जस्तै यो चरणमा पनि समस्या हुन सक्ने देखिएको योजनाले जनाएको छ ।

स्वयम्भू, ठूलोभर्याङ, महाराजगन्ज चोकलगायत स्थानमा सडक छेउमा संरचना हटाउनुपर्ने छ । कोटेश्वर–कलंकी सडक निर्माण गरेसँगै चीन सरकारले चक्रपथको दोस्रो खण्डका रुपमा कलंकी–महाराजगन्ज विस्तारमा चासो देखाएको थियो । भूकम्प पहिले नै कोटेश्वर–कलंकी सडक विस्तारको काम सुरु भए पनि भूकम्प र त्यसपछि नाकाबन्दीका कारण समयमै निर्माण सम्पन्न हुन सकेको थिएन । सडकमा रहेका खानेपानीका पाइप, ढल, बिजुलीका पोल र रूख समयमै हटाउन नसकिएकाले पनि काममा बाधा पुगेको थियो ।

सडकमा दुई अन्डर पास, प्रत्येक किलोमिटरमा अकासे पुल र मुख्य लेनमा बीचमा डिभाइडर हुने गरी सडक विभागले प्रस्ताव गरेको छ । सडक निर्माणस्थल खालि गरेर विभागले हस्तान्तरण गरेपछि मात्रै चिनियाँ टोलीले निर्माण सुरु गर्ने बताइएको छ । पहिलो चरणको विस्तार सडकमा रहेको कमी कमजोरी हुन नदिने गरी डिजाइन गरिएको सडक विभागले जनाएको छ ।

आठ लेन सडकमा कोटेश्वर–कलंकी खण्डमा जस्तै मुख्य चार लेन र सहायक चार लेन हुनेछ । पहिलो चरणमा मुख्य सडकमा दायाँबायाँ सडकलाई सडक चिह्नले मात्रै छुट्याइएकामा यस सडकमा डिभाइडर राखिने छ । पहिलो चरणमा डिभाइडर नहुँदा दुर्घटना भएका गुनासो आएकाले यस खण्डमा राख्न लागिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर