काठमाडौं– आन्तरिक राजस्व विभागले आर्थिक ऐन, २०७७ ले गरेको आर्थिक ऐन, २०७७ को दफा २४ मा उल्लेखित ‘शुल्क, थप दस्तुर तथा जरिवाना मिनाहा सम्बन्धी विशेष व्यवस्था’ विपरीत बक्यौता करमा ब्याज असुल्न थालेपछि सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।

अधिवक्ता भरतकुमार लकाईंले नेपाल सरकार, मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभााग र आन्तरिक राजस्व विभाग प्रशासकीय पुनरावलोकन शाखालाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन् ।

आर्थिक ऐनमा २०७५ असार मसान्तभित्र भएको कर निर्धारण वा अन्तःशुल्क निर्धारण उपर चित नबुझाई प्रशासकीय पुनरावलोकन निवेदन दिई विचाराधीन वा आन्तरिक राजस्व विभागको निर्णयमा चित्त नबुझाई राजस्व न्यायाधीकरण वा अदालतमा पुनरावेदनमा गई विचाराधीन रहेका मुद्दा सम्बन्धित करदाताले फिर्ता लिएमा त्यस्तो निर्धारणबाट कायम भएको आयकर, मूल्य अभिवृद्घि कर, अन्तःशुल्क वापतको कर रकम र सोमा लागेको ब्याज २०७७ फागुन मसान्तभित्र बुझाएमा सोमा लागेको शुल्क, थप दस्तुर तथा जरिवाना मिनाहा दिइने उल्लेख छ ।

आन्तरिक राजस्व विभागले २०७७ असार २८ गते निर्णय गरी साउन ८ गते जारी १३ बुँदे निर्देशनमा ‘मुद्दा फिर्ता भएपछि करदाताले कर निर्धारणबाट कायम भएको कर र सोमा लागेको ब्याज (दाखिला गरेको मितिसम्मको व्याज गणना गरी) बुझाई शुल्क, थप दस्तुर तथा जरिवाना मिन्हाको लागि सम्बन्धित कार्यलयमा निवेदन दिनुपर्नेछ’ भनेर उल्लेख गरी थप ब्याज लिन थालिएपछि रिट दायर गरिएको अधिवक्ता लकाईंले जानकारी दिए ।
रिट निवेदनमाथि सर्वोच्चले फागुन १३ गते पेसी तोकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय