बौसान, युनान (चीन)–  जताततै आँपका बिरुवा लगाइएका छन् । सिँचाइका लागि हरेक बोटमुनि पाइप राखिएको छ । हुर्किएका बिरुवा मिलाएर छिमलिएको छ । कान्लाहरु सफा र चिटिक्क पारिएको छ । कम्पोट मलका लागि घाँस र पात संकलन गर्ने व्यवस्था गरिएको छ ।

एकै खालका हजारौं आँपका बोटले प्रकृतिलाई पनि उत्तिकै सुन्दर देखाएको छ । आँखाले भ्याउन्जेलको ठाउँमा रोपिएका ती आँपका बोटको रेखदेखका लागि निरन्तर रुपमा मानिसहरु खटिएका छन् । रोगव्याधी लाग्न नदिन उत्तिकै सचेतना अपनाइएको छ । कामदारलाई ‘सिफ्ट’ प्रणालीमा खटाइएको छ । विभिन्न प्रजातिका आँपले क्रमशः उत्पादन दिने र अर्थतन्त्रमा ठूलो योगदान गर्ने विश्वास पनि उत्तिकै छ ।

यस किसिमको आधुनिक फलफूल खेती भएको ठाउँ हो कुनै बेलाको गरिब भनेर चिनिएको चीनको युनान प्रान्तको बौसान नगरपालिकास्थित छिङवाङ ड्रागन फ्रुट प्लान्टिङ बेस । यो स्थान कुनै बेला रातो माटोको गाउँ भएकाले खेती नहुने र तथा गरिबहरु बस्ने स्थानका रुपमा परिचित थियो ।

पछिल्लो समय सो क्षेत्रको रुप फेरिएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले अगाडि सारेको गरिबी निवारणको केन्द्र बनेको छ । कृषि पेसालाई नै आधुनिक तरिकाले अगाडि बढाएको सो स्थानबाट क्रमशः गरिबी एकादेशको कथा बन्न पुगेको छ । मानिसहरुको आर्थिक स्थितिमा सुधार भएको छ भने विश्व समुदायका लागि एक अध्ययनस्थलका रुपमा समेत परिचित भएको छ ।

स्थानीय सरकारले एकीकृत खेती प्रणाली अपनाएको छ । त्यसमा पनि जैविक खेती प्रणालीलाई व्यवहारमा लागू गरेको छ । उम्रेका झारपातलाई मल बनाइएको छ । परम्परागत र आधुनिक दुवै प्रणालीलाई मिश्रण गरिएको खेती प्रणालीले मानिसकोे जीवनस्तरमा सुधार गरेको छभने आर्थिक उन्नयनको मार्गचित्रमा गुणात्मक फड्को मारिएको छ । बारीका प्रत्येक गह्रामा पुग्न बाटो बनाइएको छ । सोही बाटोबाट हरेक बोटसम्म मल, कीटनाशक औधषि तथा अन्य सामग्री सहजै पुर्याइन्छ । हरेक मानिसले तोकिएको जिम्मेवारी पूरा गर्छन् । काम गर्ने, त्यसको अनुमगन तथा निरीक्षणका लागि फरक फरक मानिस खटिएका छन् ।

आधुनिक कृषि प्रणालीले ल्याएको परिवर्तन आफैंमा लोभलाग्दो छ । उत्पादित कृषि उपज बिक्रीका लागि बौसानदेखि खुनमिङका डिपार्टमेन्टलहरुमा सोझै लगिन्छ । बीचमा बसेर कमिसन खाने कुनै बिचौलिया छैनन् । खेती प्रणाली व्यवस्थापनको काम स्थानीय पार्टी समिति मातहत रहेको सहकारीले गर्दछ ।

आधुनिक खेती प्रणालीलाई पर्यटनसँग पनि जोडिएको छ । देशभित्रका हजारौं मानिस दैनिकजसो नै त्यस क्षेत्रमा भएको खेती हेर्न आउने गरेका छन् । छिङवाङडार्गन फ्रुट अफ सबट्रपिकल क्यास क्रप्स अफ युनान एकेडेमी अफ युनान एग्रिकल्चर साइन्सलाई हेर्दै आएका स्थानीय पार्टी समितिको डेपुटी पार्टी सेक्रेटरी चेन जी लीले भने, ‘हामीले कृषिलाई प्रविधिसँग, प्रविधिमार्फत बजारसँग र बजारलाई सहजरुपमा उपभोक्तासँग जोडेका छौं । यसले स्थानीय उत्पादनको बजारीकरण तथा आर्थिक उन्नयनको क्षेत्रमा ठूलो योगदान गरेको छ ।’

हरेक दिन खेतबारीमा के काम गर्ने, किसानलाई के कसरी परिचालन गर्ने, कुन बाली टिप्ने बेला भयो, कुन बालीमा मल पानी लगाउने बेला भयो भन्ने बारेमा स्पष्टसँग कार्यतालिका बनाइएको छ । कसले के गर्ने हो त्यसको व्यवस्था गरिएको छ । सँगसँगै प्राविधिक पनि खटाइएका छन् । कीटनाशक औषधि कसरी राख्नेदेखि सबै काम प्राविधिकले गर्छन् । साथमा वैज्ञानिक पनि छन् । उनीहरुले हरेक उपजको अध्ययन गर्छन् । माटोको गुणस्तरदेखि सिँचाइसम्मको ख्याल गर्छन् ।

कहीँ कतै पनि जमिन खाली छैन । कोही पनि बेरोजगार छैनन् । सबै स्थानमा बाली लगाइएको छ । सडकको दाँयाबायाँ कतै केरा रोपिएको छ भने कतै कफी रोपिएको छ । सुन्तला, आँपका बिरुवा पनि छन् । कतै ड्राग्रन फ्रुट पनि लगाइएको छ । यसले खेतीमा विविधता पनि दिएको छ । उत्पादनमा विविधताका साथै आम्दानीमा पनि उत्तिकै फरकपन छ ।

डेपुटी पार्टी सेक्रेटरी चेन जी लीले भने, ‘गरिबी निवारणको यो ढाँचा साँच्चै चिनियाँ विशेषतामा आधारित छ । हाम्रा पार्टीका महासचिव सि जिन पिङले अगाडि सार्नुभएको नीतिको हामीले अक्षरशः कार्यान्वयन गरेका छौं । यसले हामीलाई मार्गदर्शन मात्रै गरेको छैन, अरुहरुका लागि पनि प्रेरणाको स्रोत बन्न पाएका छौं ।’

बैसान सहर नजिकै रहेको लुजिङवाङमा भेटिएका डेपुटी पार्टी सेक्रेटरी चेन जीका अनुसार सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्ने मामिलामा कोहीभन्दा कोही पनि कम छैनन् । उनको फार्ममा फल्दै गरेको कफी मेहनतको अर्को उदाहरण हो । विशाल टनेलभित्र फल्दै गरेका कफीले आधुनिक चीनको आधुनिक कृषि प्रणालीको अर्को नमूना पेस गरेको छ । उनले भने, ‘चीनमा यस्ता धेरै कफी फार्म छन् । त्यसमध्ये सबैभन्दा गुणस्तरीय र स्सवादिलो कफी हामी उत्पादन गर्छौं । स्थानीय माग पूरा गरेर बाहिरी सहरमा समेत यहाँको कफी बिक्री हुने गरेको छ ।’

सोही फर्ममा कफी वैज्ञानिकका रुपमा कार्यरत हुङजी छिङले पाक्दै गरेको कफी देखाउँदै भने, ‘हरेक कफीका बोट मेरा छोराछोरी जस्तै छन् । हरेकलाई हुर्काउन मैले उत्तिकै मेहनत गरेको छु । यसको मल, पानीको पनि उत्तिकै ख्याल गरेको छु ।

यिनका हरेक दाना मलाई उत्तिकै प्रिय लाग्छन् । यसले युनान प्रान्तको शान र नाम दुवै राखेको छ । मेरो कामको समेत सम्मान गरेको छ ।’ उनले कृषि प्रणालीमा भित्र्याइएको आधुनिक पद्धतिले बदलेको चित्र र चरित्र उत्तिकै प्रभावकारी रहेको बताए ।

वैज्ञानिक तरिकाले गरिएका हरेक खेतीका आ–आफ्नै विशेषता छन्, जुन नेपाल र नेपालीका लागि पनि उत्तिकै अनुकरणीय हुन सक्ने नेपाली कांग्रेसका नेता एवम् काठमाडौं क्षेत्र नं १० का सांसद राजेन्द्रकुमार केसीको भनाइ छ । यही नोभेम्बरको ७ देखि १४ तारिखसम्म चीनको युनान प्रान्तको भ्रमणमा रहेका केसीले असाध्यै चासोका साथ अत्याधुनिक कृषि प्रणाली र खेतीको निरीक्षण गरे ।

दक्षिण एसियाका पार्टीहरुको सम्मेलनमा भाग लिन युनान पुगेका सांसद केसीले रासससँग भने, ‘रोजगारीको खोजीमा देश छाडेर विदेशिएका युवालाई यस्तै आधुनिक कृषि प्रणालीको प्रबन्ध गरेर देश फर्काउने उपायको खोजी गर्न सकिए नेपालले पनि ठूलो प्रगति गर्न सक्छ । हामी पनि त्यसतर्फ लाग्नै पर्छ ।’

थुमुक्क परेका आँपका बोट, त्यसैको डिलमा फल्दै गरेका केरा, अनि साथमा ड्रागन फ्रुट । खेतीको विविधता अनि ठूलो संख्यामा गरिएको खेतीले आधुनिक चीन र त्यसको बदलिँदो तस्बिर देखाइरहेको छ । कुनै बेलाको गरिब मानिएको युनान प्रान्तले बदलेको तस्बिर आफैँमा नेपालजस्ता देशका लागि अनुकरणीय बनेको छ ।

‘हामीले सिकेको ज्ञान सीप अरुलाई पनि बाड्न चाहन्छौं,’ डेपुटी पार्टी सेक्रेटरी चेन जी लीले भने, ‘हामी अरुलाई पनि हाम्रो सफलताको कथा सुनाउन चाहन्छौं । ज्ञान अरुलाई बाँड्दा फाइदा हुन्छ भन्ने मान्यता हामी राख्छौं ।’

चीनले पछिल्लो समय गरिरहेको कृषि उपजको विस्तार आफैंमा उदाहरणीय रहेको छ । तीव्र रुपमा आर्थिक विकासको यात्रामा अगाडि बढिरहेको चीनले आफ्नो परम्परागत कृषि पेशलाई पूर्णतः आधुनिक बनाएको छ । बाओसानको दक्षिणतर्फ बग्ने नुचियाङ नदी किनार क्षेत्रका विशाल फाँटहरु हराभरा छन् । जहाँ किसानको मेहनतका अलावा राज्यले कृषि क्षेत्रलाई कुन हदसम्म प्राथमिकतामा राखेको छ भन्ने स्पष्ट देख्न पाइन्छ । जहाँ कहीँ कतै पनि खाली जमिन भेटन मुस्किल छ । जताततै कृषि उपजले भरेको छ । जहाँ मकै, फलफूलदेखि अनेकन कफीको खेती गरिएको छ ।

फराकिला सम्म फाँटदेखि भिराला पठार समेत कृषि उपजले भरिएका छन् । अत्याधुनिक भौतिक पूर्वाधार सडक तथा सुरुङहरुका अलावा हिमाली क्षेत्रमा समेत चीनको भव्यता सहजै देख्न सकिन्छ । चीन खाद्यान्नमा आत्मनिर्भर मात्रै भएको छैन । आफूलाई बढी भएको कृषि उपज अन्य देशमा निर्यात पनि गरिरहेको छ ।

समथर फाँटमा फलेका सागसब्जी र कफीलगायतका उत्पादन भियतनाम, दक्षिण कोरिया, अफ्रिका र दक्षिण अमेरिकासमेत पुग्ने गरेको स्थानीयको भनाइ छ । स्थानीय पार्टी समिति, स्थानीय सरकारले कृषिकर्म गर्नेलाई अनेक सहुलियत दिएको छ । खेतीमा सकेसम्म विषादी कम मात्रै प्रयोग गरिएको छ । सरकारको सहुलियत पनि उत्तिकै छ ।

कृषकका उत्पादन आन्तरिक बजारमा खपत गराउनेदेखि विश्व बजारसम्म पु¥याउने सुनिश्चितता गरिएका कारण युनान प्रान्तका हरेक ग्रामीण बस्ती यतिबेला शतप्रतिशत हराभरा छन् । ठूला सडकका दायाँबायाँ खेतीले भरिएका छन् । जमिनको शतप्रतिशत उपयोगमा ध्यान दिएको चीनले सिँचाइको प्रबन्ध पनि उत्तिकै राम्ररी गरेको छ । सहजरुपमा सिँचाइ नपुग्ने स्थानमा सौर्य सिँचाइ प्रणाली तथा अन्य उत्तम विकल्पसमेत उपलब्ध गराएको छ ।

स्थानीय बौसान नगरपालिकाले सन् २०१६ देखि नै बौसान कफी पर्यटन र सांस्कृतिक महोत्सव गर्दै आएको छ । कफी बगैंचालाई नै पर्यटनको केन्द्र समेत बनाइएको छ । त्यहाँ अनेक सुविधासमेत प्रदान गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी ले १९औँ र २०औं राष्ट्रिय महाधिवेशनमा देशको ग्रामीण क्षेत्रलाई पुनर्जागरण गर्न विभिन्न योजना अगाडि सारे ।

सोही योजनाको वस्तुनिष्ठ कार्यान्वयन भएको र हरेक गाउँहरु क्रमशः समृद्ध र आर्थिक रुपमा सबल बन्दै गएका छन् ।
सोही योजनाअनुसार नै सिन्छाई गाउँ सरकारले अहिले आफ्नो मुख्य ध्यान कफीको गुणस्तरीय उत्पादनमा दिएका छ । गाउँ समृद्ध र सबल बनेको छ । औद्योगिकीकरण हुँदै गएको गाउँमा कफी खेती विशेष प्राथमिकतामा राखिएको छ । युवा गाउँमा छन्, वैज्ञानिक पनि साथमा छन् । नियमित प्रशिक्षण र तालिम पनि गरिन्छ । यसले आधुनिक चीन गाउँहरुबाट जन्मिइरहेको छ । युवा विदेश पलायन भइरहेको नेपालका लागि चीनको यो उदाहरण आफैंमा अनुकरणीय हुन सक्छ ।
– रमेश लम्साल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय