काठमाडौं– अमेरिकी औषधी उत्पादक कम्पनी जोन्सन एन्ड जोन्सनले विकास गरेको कोभिड १९ विरूद्धको खोपलाई आपतकालीन प्रयोग अनुमति दिएको छ ।

कोभिड १९ विरुद्धका अन्य खोपभन्दा फरक जोन्सन एन्ड जोन्सको खोप एक मात्रा लगाए पुग्छ । रसियाको स्पुतनिक, अमेरिकी कम्पनी फाइजर र मोडेर्ना, अक्सफोर्ड र अस्ट्राजेनेका, चीनमा विकसित दुईवटा खोप दुई मात्रा लगाउनुपर्छ ।

अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले १८ वर्षमाथिका व्यक्तिमाथि जोन्सन एन्ड जोन्सनको उक्त खोप प्रयोग गर्न शनिबार अनुमति दिएको हो ।

जोन्सनले विश्वभरि ४४ हजार मानिसमा खोपको परीक्षण गरेको जनाएको छ । उक्त परीक्षणबाट यो खोप ६६ प्रतिशत प्रभावकारी देखिएको कम्पनीको भनाइ छ । यो खोप लगाएपछि कोरोना संक्रमण भए पनि कोही पनि अस्पताल भर्ना हुनु नपरेको र एकजनाको पनि मृत्यु नभएको कमपनीले जनाएको छ ।

एक डोजमात्रै लगाए पुग्ने र सामान्य फ्रिजको तापक्रममै राख्न सकिने भएकाले जोन्सनको खोपप्रति आकर्षण बढ्ने अनुमान गरिएको छ ।
अमेरिकाले जोन्सनको १० करोड मात्रा खोप किनेको छ । यही साताभित्रै ३० देखि ४० लाख खोप वितरण गर्ने उसको योजना छ ।

युरोपियन युनियनले पनि जोन्सन खोपको डाटा अध्ययन गरिरहेको प्राप्त समाचारमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय