काठमाडौं– नेपाल उद्योग परिसंघ (सिएनआई)ले मुलुकलाई आत्मनिर्भर बनाउन स्वदेशी उत्पादनलाई प्राथमिकता दिन आग्रह गरेको छ । परिसंघले आत्मनिर्भरताको नारा सार्थक बनाउन ‘मेक इन नेपाल–स्वदेशी’ अभियान सुरु गरेको भन्दै यसलाई सघाउन अनुरोध गरेको हो ।

सिएनआईका अध्यक्ष सतिशकुमार मोर नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई सोमबार छुट्टाछुट्टै भेटेर ‘मेक इन नेपाल–स्वदेशी’ अभियानलाई सघाउँदै स्वदेशी उत्पादन वृद्धि गर्न आग्रह गरे ।

उनले स्वदेशी उत्पादन वृद्धि गर्न, व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउन, नेपाली वस्तु र सेवाको माग बढाउन माग गरे । मुलुकको औद्योगिक विस्तार, रोजगारीको सिर्जना एवं उत्पादन वृद्धिबाट मात्र राष्ट्रिय अर्थतन्त्र माथि उठाउन सकिने धारणा राखे । सरकारले स्वमित्वबोध गरी स्वदेशी उद्योगहरुको स्थापना र उद्योगलाई आत्मनिर्भर बनाउन सरकारबाट प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरे ।

परिसंघले तयार गरेको स्वदेशी लोगोको स्वामित्व सरकारले लिई कार्यान्वयन गर्न परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले अनुरोध गरे । राष्ट्रिय आवश्यकतालाई महसुस गरी यसलाई व्यवहारिक बनाउन पहल गर्ने अर्थमन्त्री पौडेलको धारणा थियो । उद्योगमन्त्री भट्टले नयाँ औद्योगिक क्षेत्रमा उद्योग स्थापनामा परिसंघले पहल गर्नुपर्ने बताए । उद्योगी, व्यवसायीलाई सुविधा उपलब्ध गराउनुपर्ने भएमा सरकार तयार रहेको बताए ।

परिसंघले आगामी पाँच वर्षमा वार्षिक निर्यात ४.३ अर्ब डलर पु¥याउने लक्ष्य लिएको छ । सन् २०२५ सम्ममा कुल गार्हस्थ उत्पादन उद्योगको योगदान २२ प्रतिशत र २०३० सम्ममा २६ प्रतिशत योगदान पुर्याउनुपर्ने परिसंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय