अर्घाखाँची– सन्धिखर्क नगरपालिकाले व्यावसायिक कृषि व्यवसायमा संलग्न कृषकलाई बिनाधितो सुलभ ब्याजदरमा कृषि ऋण प्रदान गर्ने भएको छ ।

व्यावसायिक कृषि गर्नेलाई सुलभ कृषि कर्जा प्रदान गर्न नगरपालिका र नेपाल बैंक लिमिटेडबीच बुधबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसाल र नेपाल बैंक लिमिटेडका लुम्बिनी प्रदेशका मुख्य प्रबन्धक लेखनाथ भुसालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

विदेशबाट फर्किएका र कोरोनाका कारण रोजगारी गुमाएका युवा तथा अन्य युवालाई कृषि पेसामा आवद्ध गराई समृद्ध सन्धिखर्क नगरपालिका बनाउन सुलभ कृषि कर्जा कार्यक्रम सञ्चालन गरेको नगर प्रमुख भुसालले बताए ।

कृषि पेसा गर्नेलाई बिनाधितो कर्जा प्रर्वाह गर्न कुनै पनि प्रकारको शुल्क नलाग्ने, ब्याजदर पनि दुईदेखि तीन प्रतिशतको हाराहारीमा रहने नेपाल बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख मुख्य प्रबन्धक लेखनाथ भुसालले बताए । सुलभ कृषि कर्जा लिने व्यवसायीलाई बैंकले इन्टरनेट बैंकिङ, एटिएम सेवा, इबिबिएसलगायतका सेवासमेत निःशुल्क प्रदान गर्ने मुख्य प्रबन्धक भुसालको भनाइ छ ।

सन्धिखर्क नगरपालिकाको ७५ लाख र नेपाल बैंक लिमिटेडको ७५ लाख गरी एक करोड ५० लाख कृषि पेसा गर्ने युवालाई एक लाखदेखि तीन लाखसम्म सुलभ कर्जा प्रदान गरिने सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमलप्रसाद भुसालको भनाइ छ ।

कोभिडको कारणबाट स्वदेश फर्किएका, हातमा सीप, श्रम र क्षमतावान युवालाई कर्जामा पहुँच पुर्याउन सुलभ कृषि कर्जा कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बताए ।

नागरिकमा वित्तीय पहुँच पुर्याउने, पैसा नभएर उद्यमशील हुन नसकेका र वित्तीय पहँुच नभएका नागरिकलाई उद्यमशील बनाउने उद्देश्य कार्यक्रमको उद्देश्य रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय