काठमाडौं– अर्थ मन्त्रालयले ११३ वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रका लागि १ अर्ब ८ करोड ५३ लाख २३ हजार रुपैयाँ ससर्त अनुदानका रुपमा निकासा गर्ने भएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वडास्तरीय स्वास्थ्य सेवा केन्द्रको निर्माणाधीन भवनहरुको दायित्व भुक्तानीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा रकम निकासामा स्वीकृति दिएका हुन् ।

स्थानीय तहका सबै वडाबाट प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने नीति अनुसार २ हजार ६ सय २६ वटा वडामा स्वास्थ्य संस्था निर्माणाधीन अवस्थामा छन् । स्वास्थ्य संस्थाको काम सम्पन्नताको आधारमा वित्तीय हस्तान्तरणको रुपमा रकम पठाउने गरिन्छ ।

अर्थ मन्त्रालयका प्रवक्ता सुमन दाहालले चालु आर्थिक वर्षमा स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि ४ अर्ब २० करोड रुपैयाँ विनियोजन गरिएको र त्यसमध्ये यसअघि २ अर्ब ६९ करोड रुपैयाँ २८ लाख ५८ हजार रुपैयाँ निकासा भइसकेको जानकारी दिए ।

अर्थ मन्त्रालयले प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण कार्यक्रम अन्तर्गत ५७ अर्ब ९७ करोड रुपैयाँ बराबरको स्रोत सुनिश्चित गरेको थियो । र, सोही अनुसार गत मंसिर १५ गते ३ सय ८ वटा स्थानीय तहमा आधारभूत अस्पतालको शिलान्यास गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय