काठमाडौं– राजस्व अनुसन्धान विभागले २०७६ साउनबाट प्रयोगमा ल्याएको भेहिकल कन्साइनमेन्ट ट्य्राकिङ सिस्टम (भिसिटिएस) छलेर सामान ढुवानी गर्नेबाट पाँच करोड रुपैयाँ जरिवाना असुल गरेको जनाएको छ । विभागले बुधबार झण्डै तीन वर्षको कार्यप्रगति विवरण सार्वजनिक गर्ने क्रममा सो जानकारी दिएको हो ।

महानिर्देशक दीर्घराज मैनालीको ३३ महिने कार्यकालमा आर्थिक अपराध नियन्त्रणमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको भन्दै विभागले बुधबार विवरण सार्वजनिक गरेको छ । विभागले सूचना प्रविधिसँग जोडेर अनुसन्धान प्रणालीलाई व्यवस्थित गरिएकाले व्यावसायिक आचरण कायम गर्न सफल भएको जनाएको छ ।

विभागले २०७६ साउनदेखि भिसिटिएस प्रयोगमा ल्याएको थियो । सूचना र प्रविधिको प्रयोग गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐनको दफा १३ ‘ग’ मा भएको व्यवस्थाअनुसार व्यावसायिक प्रयोजनका मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली प्रयोग गरिएको थियो । विभागका अनुसार यसले राजस्वको दायरासमेत बढेको र करको दायरामा नआएका व्यवसायीलाई दायराभित्र प्रवेश गराउन सहज भएको छ ।

उक्त सूचना प्रणाली छल्न खोज्ने व्यक्तिविरुद्ध झण्डै ३० करोड बिगो कायम गरी मुद्दा चलाइएको मैनालीले बताए । पछिल्लो समयमा एक हजार अनुगमनमा यसरी प्रणाली छली गरी मालसामान ढुवानी गर्नेलाई पाँच करोड रुपैयाँभन्दा बढी जरिवानासमेत गरिएको छ ।

विभागका अनुसार उक्त प्रणालीका प्रयोगकर्ता नै एक लाख १३ हजार पुगिसकेका छन् । हालसम्म ४१ खर्ब बराबरको मालवस्तु सूचना प्रणालीमा प्रविष्ट गराई ओसारपसार भइसकेको छ । यसले राजस्व वृद्धिमा सहयोग पु¥याएको विभागको भनाइ छ ।

आर्थिक सुशासन कायम गर्न राजस्व चुहावट नियन्त्रण एवं विदेशी विनिमय अपचलन नियन्त्रण कसुरमा अनुसन्धान तथा अभियोजन गर्ने प्रमुख जिम्मेवारी विभागको हो । विभागले बुधबार सार्वजनिक सूचना जारी गरी त्यस अवधिमा राजस्व चुहावटतर्फ २२० मुद्दामा ७८० प्रतिवादी बनाई ३६ अर्ब ६१ करोडको छली गरेको आरोपमा अदालतमा मुद्दा चलाइएको जनाएको छ । अन्य १७ मुद्दामा सात अर्बको बिगो कायम गरी निर्णयका लागि सरकारी वकिलको कार्यालयमा पठाइएको छ ।

यस्तै विदेशी विनिमय अपचलनतर्फ ४४० लाई प्रतिवादी बनाई १० अर्ब ७२ करोड बिगो कायम गर्दै मुद्दा दायर गरिएको मैनालीले जानकारी दिए । यस्तै मूल्य अभिवृद्धिकरका झुटा तथा नक्कली बिजक जारी गरी ठूलो परिमाणमा राजस्व छली गर्नेविरुद्ध १६० मुद्दा दर्ता गरिएको छ । उक्त मुद्दामा १९ अर्बभन्दा बढी बिगो बराबरको छली गरेको आरोप लगाइएको छ । मैनाली बुधबार विभागबाट अर्थ मन्त्रालयमा सरुवा भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय