काठमाडौं– चालू आर्थिक वर्षको अन्त्यमा नेपाली अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब रुपैयाँ बराबर पुग्ने अनुमान राष्ट्रिय तथ्यांक कार्यालयले आइतबार सार्वजनिक गरेको छ । यो अघिल्लो वर्षको तुलनामा आधारभूत मूल्यमा ३.५४ प्रतिशत र उपभोक्ता मूल्यमा ३.८७ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्ष २०७९–८० मा अर्थतन्त्रको आकार ५३ खर्ब ४८ अर्ब रहने संशोधित अनुमान कार्यालयको छ । त्यसैगरी, कार्यालयले आर्थिक वर्ष २०७८–७९ मा अर्थतन्त्रको आकार ४९ खर्ब ७६ अर्ब रहने अन्तिम विवरण सार्वजनिक गरेको छ ।

‘हाल प्रकाशित राष्ट्रिय लेखाका स्थिर मूल्यका अनुमान तथा आर्थिक वृद्धिदर आर्थिक वर्ष २०६७–६८ को आधारभूत मूल्यमा आधारित छन्,’ कार्यायलले भनेको छ, ‘चालू आर्थिक वर्ष २०८०–८१ मा स्थिर मूल्यमा अनुमान गरिएको आर्थिक वृद्धिदर (कुल गार्हस्थ उत्पादन–जीडीपीको वार्षिक वृद्धिदर) आधारभूत मूल्यमा ३.५४ प्रतिशत र उपभोक्ताको मूल्यमा ३.८७ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको छ ।’

आधारभूत मूल्यको आर्थिक वृद्धिदर गत आर्थिक वर्ष २०७९–८० मा २.३१ प्रतिशत हुने संशोधित अनुमान कार्यालयको छ । त्यसैगरी, अन्तिम तथ्यांकअनुसार आधारभूत मूल्यको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०७८–७९ मा ५.२८ प्रतिशत कायम गरिएको छ । उपभोक्ताको मूल्यमा आर्थिक वृद्धिदर गत आर्थिक वर्ष २०७९–८० मा १.९५ प्रतिशत हुने संशोधित अनुमान गरिएको छ भने अन्तिम तथ्यांकअनुसार आर्थिक वर्ष २०७८–७९ मा ५.६३ प्रतिशत कायम गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय