काठमाडौं– सरकारले पहिलो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाएकालाई दोस्रो मात्रा आगामी वैशाख ७ देखि १५ गतेसम्म लगाउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको ‘कोभिड–१९ खोपको विज्ञान र नेपालमा खोप अभियान’ विषयक छलफल कार्यक्रममा मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले पहिलो लगाएको खोपको मात्रा लगाएको आठ हप्तापछि दोस्रो मात्रा लगाउनुपर्ने भएकाले आगामी वैशाख ७ देखि १५ गतेसम्म दोस्रो मात्रा लगाउने तयारी गरिएको बताए ।

माघ र फागुनमा पहिलो मात्रा लगाएको आठ हप्ता पुगेपछि सबैलाई वैशाख ७ गतेदेखि नै खोप लगाउने तयारी थालिएको हो । पहिलो चरणको खोप अभियानअन्तर्गत माघ १४ देखि ३० गतेसम्म लगाएका स्वास्थ्यकर्मी, अग्रपंक्तिमा काम गरेका सुरक्षाकर्मी, पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलगायतलाई ‘कोभिसिल्ड’को दोस्रो मात्रा वैशाख ७ देखि १५ गतेसम्म लगाइने भएको छ ।

पहिलो चरणको खोप अभियान माघ १४ देखि फागुन पहिलो हप्तासम्म करिब चार लाख २९ हजारलाई कोभिड–१९ विरुद्धको ‘कोभिसिल्ड’ खोप लगाइएको थियो । उक्त खोप अभियानमा कुल जनसंख्याको १.४ प्रतिशतलाई खोप प्रदान गरिएको थियो । सरकारले ७२ प्रतिशत जनसंख्यालाई खोप लगाउने लक्ष्यका साथ खोप किन्ने प्रक्रियासमेत अगाडि बढाएको उनले जानकारी दिए ।

उनका अनुसार थप ५० लाख मात्रा खोप खरिद गर्ने प्रक्रियासमेत अगाडि बढाइएको छ । यसअघि भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोप २० लाख किनेकोमध्ये १० लाख आइसकेको छ । सोही खोप यही फागुन २३ गतेदेखि ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई लगाइने भएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले कोभ्याक्स संयन्त्रमार्फत एक करोड ३० लाख मात्रा खोप पनि आउने जानकारी दिए । उनले यसअघि खोप अभियान सञ्चालन गरेर दादुरा–रुबेला, बिफर, जापानी इन्सेफेलाइटिस रोगलाई निवारण गरेको उल्लेख गर्दै कोभिड–१९ लाई पनि खोपद्वारा नै नियन्त्रण गर्ने बताए । उनले खोपबारे बुझाउन नसक्दा सुरुमा खोप नलगाउन मानिस हिच्किचाएको समेत बताए ।

विश्व स्वास्थ्य संगठन, नेपालका नेसनल प्रोफेसनल अफिसर डा राहुल प्रधानले कोभिसिल्ड खोप नेपालसँगै विश्वका ५८ देशले प्रयोग गरिरहेकाले प्रभावकारी र सुरक्षित रहेको बताए । उनले विश्वमा २२ करोड ७६ लाख मानिसले लगाइसकेको समेत जानकारी दिए । उनले विभिन्न अध्ययनले कोभिसिल्ड पहिलो मात्रा लगाएको आठ हप्तामा लगाए ७१ प्रतिशत र १२ हप्तामा लगाए ८१ प्रतिशत प्रभावकारी देखिएको बताए । गम्भीर रोग लागेकालाई शतप्रतिशत केही नभएको समेत उनले स्पष्ट पारे । खोपमा एक डलर खर्च गरे ४२ डलर फिर्ता हुने उनको भनाइ रहेको छ ।

सार्कमा माल्दिभ्स बढी
उनका अनुसार दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का मुलुकमा सबैभन्दा बढी माल्दिभ्समा खोप लगाइएको छ । माल्दिभ्समा २२.८८ प्रतिशत, श्रीलंकामा २.५९, बंगलादेशमा २.०३, भारतमा १.१३ र पाकिस्तानमा ०.०३ प्रतिशत जनताले खोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय