धुलिखेल– नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा व्यावसायिक गतिविधि सञ्चालनका लागि उपयुक्त वातावरण बनेको बताएका छन् ।

शनिबार काभ्रे उद्योग वाणिज्य संघको ४१औं वार्षिक साधारणसभा तथा अधिवेशनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले अहिले बैंकको ब्याज दर एकल अंकमा आएको र कोभिड–१९ को प्रकोप पनि विस्तारै कम हुँदै गएकोले मुलुकमा लगानीको लागि उपयुक्त वातारण तयार भएको बताए ।

बैंक र व्यवसायीबीचको सम्बन्ध सुमधुर रहनुपर्ने औंल्याउँदै ग्लोबल आइएमई बैंकका अध्यक्षसमेत रहेका ढकालले अब बैंकलाई गाली गरेर बस्ने अवस्था नरहेको बताए ।

‘अहिले बैंकको ब्याज दर र आधार दर सिंगल डिजिटमा झरेको छ । स्प्रेड दर पनि केन्द्रीय बैंकले तोकेभन्दा तल झरिसकेको छ । अब तपाईं हामीले बैंकलाई गाली गरेर बस्ने होइन व्यावसायिक गतिविधि बढाउनुपर्ने बेला आएको छ,’ उनले भने ।

मुलुकभित्र लगानीमैत्री वातावरणमा थप सुधार गर्दै जान अहिलेको कर तथा भ्याटको दरमा पनि विस्तारै परिमार्जन गर्नुपर्ने उनको तर्क छ । यसका लागि महासंघले निजी क्षेत्रको तर्फबाट सरकार तथा सम्बन्धित निकाय समक्ष आवाज उठाउने ढकालले बताए ।

उनले महासंघमा निर्वाचनपछि सबै समूह एक भएर अगाडि बढ्नुको विकल्प नभएको पनि बताए । ‘निर्वाचनको समयमा पक्ष तथा विपक्ष भएर निर्वाचनको मैदानमा उत्रिए पनि निर्वाचन सकिएकै दिनदेखि सबै पक्ष मिलेर अगाडि बढ्नुपर्ने हुन्छ,’ उनले भने ।

उनले अहिलेको महासंघको नेतृत्वले मुलुकमा व्यावसायिक वातावरण बनाउन सरकार तथा अन्य सरोकारवाला निकायसँग निरन्तर वार्ता, संवाद तथा सहकार्य जारी राख्ने बताए ।

वरिष्ठ उपाध्यक्ष ढकालले काभ्रे उद्योग वाणिज्य संघको ४१औं वार्षिक साधारणसभाले एउटा जुझारु र सक्षम नेतृत्व चयन गर्ने पनि बताए । जिल्ला, नगरका साना व्यवसायीका समस्या समाधानमा जिल्ला नगरका नेतृत्वमा रहेका व्यवसायी नै सक्षम रहेको भन्दै उनले जिल्ला, नगरका उद्योगी, व्यवसायीका समस्या समाधानका लागि जिल्ला नगरका व्यवसायीसँग होस्टेमा हैंसे गर्न गर्न महासंघको नयाँ नेतृत्व सधैं तत्पर रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय