काठमाडौं– संस्कृति, पर्यटन तथा नगारिक उड्डयनमन्त्री भानुभक्त ढकालले पिसिआर रिपोर्ट नेगेटिभ भएका विदेशी पर्यटकलाई निर्वाध रुपमा नेपाल भ्रमण गर्न दिने तथा अनअराइभल भिसाको व्यवस्था गर्न मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई लिखित रुपमै पठाएको र संस्थाद्वारा प्रस्तुत मुख्य विषयमा छिट्टै मन्त्रिपरिषद्बाट सम्बोधन हुने बताएका छन् ।
प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको ४४औं वार्षिक साधारणसभामा उनले त्यस्तो जानकारी दिएका हुन् । सो अवसरमा उनले पर्यटन क्षेत्रको विविधीकरण र अन्तर्राष्ट्रिय बजारीकरणका लागि रणनीतिक योजना र कार्यक्रम ल्याउन पाटा नेपाललाई आग्रह गर्दै यसका लागि मन्त्रालय हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए ।
उनले सीमित स्रोत साधनका बाबजुद विवादरहित संस्थाका रुपमा पाटा नेपालले स्वतः स्फूर्त रुपमा पर्यटन प्रवर्द्धन र विकासका लागि गरेका कार्य तथा भूमिका प्रसंशनीय र प्रेरणादायी रहेको पनि बताए ।
कोभिड–१९ का कारण सिर्जित विषम परिस्थिति र चुनौतीले थलिएको पर्यटन क्षेत्रको प्रवर्द्धन अभियानमा नेपाली ‘सेलिब्रेटी’ सेफ सन्तोष साहले पुर्याएको योगदानको सम्मानस्वरुप पाटा नेपालले साधारणसभाको प्रमुख वक्ताको रुपमा सेफ साहलाई नेपाल आमन्त्रण गरेको थियो । सेफ साहले बेलायतको प्रतिस्ठित बिबिसी मास्टर सेफ द प्रोफेसनल्स २०२० को उपविजेताको रुपमा नेपालको रैथाने खानालाई प्रसिद्ध एवं आकर्षक खानाको रुपमा विश्वव्यापी प्रवर्द्धन एवं प्रमाणीकरण गर्न अतुलनीय भूमिका निर्वाह गरेका थिए ।
कार्यक्रममा सेफ साहले नेपाललाई कोभिड–१९ पछिको परिवेशमा स्वास्थ्य सुरक्षा एवं संस्कृति र खानाको आकर्षक गन्तव्यको रुपमा पहिचान स्थापित गराउन नेपालको निजी तथा सार्वजनिक पर्यटन क्षेत्रमा आवद्ध व्यवसायी तथा सरोकारवालालाई खाद्य स्वच्छता एवं गुणस्तरीय आवास सुनिश्चित गरी प्रमुख दुईवटा पक्षमा विशेष जोड दिन अनुरोध गरे । यसो गरे विदेशी पर्यटकको विश्वास र भरोसा जित्न सकिने उनको भनाइ छ ।
साधारणसभाको औपचारिक समारोहमा पाटाले चारवटा अवार्ड पनि प्रदान गरेको जनाएको छ । पाटाका अनुसार संस्थाले पूर्वपर्यटनसचिव तथा नेपाल पर्यटन बोर्डका संस्थापक अध्यक्ष दीपेन्द्रपुरुष ढकाललाई ‘लाइफ टाइम अचिभमेन्ट’ अवार्ड, पाटा अन्तर्राष्ट्रियका सिइओ डा मारियो हार्डीलाई टुरिजम ट्रेल ब्लेजर’ अवार्ड, सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टलाई बेष्ट स्टुडेन्ट च्याप्टर अफ द इयर २०२०’ अवार्ड र सेफ सन्तोष साहलाई ‘पाटा पर्सनालिटी अफ द इयर २०१८’ अवार्ड प्रदान गरेको संस्थाको विज्ञप्तिमा उल्लेख छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष विभुती चन्द ठाकुरले स्वागत मन्तव्य राख्दै वर्तमान समयमा नेपाली पर्यटन क्षेत्रको छिटो, सशक्त र जिम्मेवारपूर्ण पुनरुत्थानका लागि अनिर्वाय क्वारेन्टिनको व्यवस्था हटाउने, अनअराइभल भिसा तथा पिसिआर चेकजाँचको व्यवस्था, कोभिडविरुद्धको खोप लगाएका यात्रुको यात्रा सहजीकरण, स्वास्थ्य सुरक्षा तथा स्वच्छता र अन्य समसामयिक तालिम सञ्चालन, सुरक्षा मापदण्डको पालना र अनुगमन संयन्त्रको व्यवस्था, राष्ट्रिय क्षेत्रीय तथा अन्तर्राष्ट्रिय रुपमा साझेदारी एवं समन्वय तथा गन्तव्य प्रवर्द्धन लगायत पर्यटन क्षेत्रले तत्काल सम्बोधन तथा आत्मसात गर्नुपर्ने १० वटा विषयहरु प्रस्तुत गरेका थिए । उनले पाटा नेपालले २०२१ मा आयोजना गर्ने प्राथमिक कार्यक्रम तथा पहलको बारेमा प्रकाश पार्दै सम्पूर्ण पर्यटन क्षेत्रमा आवद्ध व्यक्ति संघ–संस्था तथा सरोकारवाला निकायलाई एकबद्ध भई काम गर्न अनुरोध गरे ।
नेपाल पर्यटन बोर्डका सिइओ डा धनञ्जय रेग्मीले सम्पूर्ण अवार्ड तथा सम्मान प्राप्त व्यक्तित्वलाई बधाई ज्ञापन गर्दै नेपाल पर्यटन बोर्ड पर्यटन निजी क्षेत्रसँग सहकार्य गर्दै पर्यटन पुनरुत्थान, प्रवर्द्धन र विकासका लागि सदैव प्रतिबद्ध रहेको बताए ।
पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा पाटा नेपालले निरन्तर रुपमा निर्बाह गरेको भूमिका उल्लेखनीय एवं प्रसंशनीय भएको बताउँदै यस संस्थाले आगामी दिनमा आयोजना गर्ने पर्यटन पुनरुत्थान, प्रवर्द्धन र दिगो पर्यटन विकासका कार्यक्रममा मन्त्रालयको तर्फबाट आवश्यक साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।