
काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को पहिलो वार्षिक साधारण सभाले एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षको जिम्मेवारी भोजबहादुर शाहले पाएका छन् । त्यसैगरी राजेश उपाध्याय उपाध्यक्ष, केशवबहादुर रायमाझी महासचिव, तुलसीराम अग्रवाल कोषाध्यक्ष, कुशप्रसाद मल्ली सचिव र मनोजकुमार केडिया सहकोषाध्यक्ष चुनिएको परिसंघले जनाएको छ ।
कार्यसमिति सदस्यमा पृथ्वीबहादुर पाण्डे, तुलसीप्रसाद गौतम, इच्छाराज तामाङ, उपेन्द्रकेशरी न्यौपाने र महेन्द्रकुमार गोयल छाएिका छन् । त्यसैगरी, दशरथ रिसाल र हिरेन्द्रमान प्रधान कार्यसमिति सदस्यमा सर्वसम्मत भएका छन् । उक्त निर्वाचन कार्यक्रम अधिवक्ता बालकृष्ण ढकालको संयोजनमा सम्पन्न भएको परिसंघले जनाएको छ ।
नवनिर्वाचित अध्यक्ष गोल्यानले कार्यसमितिको आगामी दुई वर्षमा गरिने विषयबारे जानकारी गराउँदै संस्थालाई राष्ट्रकै अभिन्न अंगको रुपमा स्थापित गरी समग्र आर्थिक विकासमा टेवा पुर्याउने सहयोगी संस्थाको रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
साथै, नेपाल सरकार र सम्बन्धित नियामक निकायसँग सहकार्य गर्दै समग्र राष्ट्र निर्माणका लागि नयाँ सोचसहित अगाडि बढ्ने, देशमा हजारौं साना तथा मझौला उद्यमीको विकास गरी स्वदेशमै आवश्यक रोजगारीका अवसर सिर्जना गर्न लागि पर्ने विषयमा जोड दिए । राष्ट्रको आर्थिक क्षेत्रसँग सम्बन्धित नीति–नियम निर्माण गर्दा परिसंघ जस्ता निजी क्षेत्रका सरोकारवाला संस्थाहरुसँग सहकार्य गरी अगाडि बढ्न सक्यो भने अपेक्षित आर्थिक विकास प्राप्त गर्न सकिने धारणा व्यक्त गरे ।
महासचिव रायमाझीले सञ्चालन गरेका साधारण सभाको समापन सत्रमा संस्थाका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहलगायत अन्य पदाधिकारी तथा सदस्यहरुले समेत सिबिफिनलाई नयाँ उचाइमा पुर्याउन कार्यसमितिले अवलम्बन गर्ने कार्यदिशा र रणनीतिका बारेमा प्रकाश पारे ।
साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैक तथा वित्तीय संस्था परिसंघले उठाएका विषयमा सरकारले उचित तरिकाले सम्बोधन गर्ने आश्वासन दिए ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिषकुमार मोर र नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले समग्र व्यवसायको उत्थानका लागि सिबिफिनको भूमिका विशेष रहेको उल्लेख गर्दै राष्ट्रको समग्र आर्थिक विकासमा हातेमालो गर्दै अगाडि बढ्न बैंक तथा वित्तीय संस्था परिसंघसँग सहकार्य गर्ने धारणा व्यक्त गरे ।