महेन्द्रनगर– आगामी शुक्रबारदेखि तीन दिनसम्म देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको पूर्वानुमान गरिएकाले सुदूरपश्चिम प्रदेशमा पनि सजकता अपनाउँदै विपद् प्रतिकार्यका लागि सरोकारवाल संयन्त्र तयारी अवस्थामा राखिएको छ ।
सम्भावित वर्षात्मा उच्च जोखिममा रहेका बझाङ, बाजुरा, दार्चुला र अछाममा उच्च सर्तकता अप्नाउन ‘एलर्ट’ जारी गरिएको जल तथा मौसम विज्ञान कार्यालय अत्तरीया, कैलालीका निमित्त प्रमुख सञ्जयकुमार शाहले जानकारी दिए। ‘चुरे क्षेत्रमा वर्षात् हुने भएकाले यी दुई जिल्लालाई पनि उच्च जोखिममा राखेर एर्लट गरिएको छ ।’
उच्च जोखिममा राखिएको सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले सम्भावित वर्षापछि उत्पन्न हुनसक्ने विपद्को परिस्थितिबाट बच्न नागरिक तहसम्म सुचना जारी गरिएको बताए। उनले भने, ‘सडक अवरुद्ध भए तत्काल सञ्चालन गर्न स्काभेटर तयारी अवस्थामा राख्नुका साथै दुई महिनासम्मका लागि खाद्यान्नको बन्दोबस्ती गरेका छौं ।’ उनले स्रोतसाधनले भ्याएसम्मको तयारी गरिएको बताए ।
त्यसैगरी बझाङका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले गृह मन्त्रालयसँग समन्वय गरेर पूर्वतयारीबारे छलफल भइरहेको बताए । उनले भने, ‘बझाङलाई उच्च जोखिममा राखिएकाले सोही अनुसार विपद् प्रतिकार्य तयारी भइरहेको छ ।’
स्थानीय प्रशासनका साथै सुदूरपश्चिममा सुरक्षा संयन्त्रहरुले पनि सम्भावित विपद्बाट क्षति कम गर्नका लागि विपद् प्रतिकार्य तयारी तिव्र पारेका छन् । सशस्त्र प्रहरी बल श्री नं ७ वैद्यनाथ बाहिनी अत्तरीयाका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक रमेशकुमार पाण्डेयले मौसम पूर्वानुमान महाशाखाबाट आएको खबर अनुसार सशस्त्र प्रहरी बलले विपद् प्रतिकार्य तयारी गरेको जानकारी दिए ।
‘यस अवधिमा शसस्त्र प्रहरीका कर्मचारीलाई बिदा दिइएको छैन, सुदूरपश्चिमा तैनाथ शसस्त्र प्रहरी युनिटका साथै विपद्का लागि यहाँ १४ वटा अस्थायी विपद् सुरक्षा बेस तयारी अवस्थामा राखिएको छ । सरोकारवाला निकाय र सुरक्षा संयन्त्रबीच समन्वय भइरहेको छ,’ उनले भने ।
बंगालको खाडीको मध्य भू–भाग आसपास रहेको न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै गएको र त्यसको प्रभाव नेपालमा पनि पर्ने बताइएको छ ।
भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सुरक्षा समितिहरुले प्रतिकार्य तयारी गरिरहेका छन् । नेपाली सेनाले पनि सुदूरपश्चिम प्रदेशमा विपद् प्रतिकार्य तयारी पुरा गरिसकेको जनाएको छ । प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सेनाले सुदूरपश्चिम पृतनामा हेलिकप्टर तयारी अवस्थामा राखेको नेपाली सेनाले जनाएको छ ।









