काठमाडौं– नेपाल र बंगलादेश सरकार (सरकार–सरकारबीच, जिटुजी) सम्झौतानुसारको पहिलो खेपको रासायनिक मल आज साँझसम्म नेपाल आइपुग्ने भएको छ । बंगलादेशबाट खरिद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मलमध्येमा पहिलो लटमा दुई हजार ५०० टन मल नेपाल आइपुग्ने भएको हो ।

मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनीका अनुसार कोलकाता ल्याइएको २२ हजार ५०० टन रासायनिक मलमध्येमा आज बेलुका वा मंगलबार बिहानसम्म दुई हजार ५०० टन मल नेपाल आइपुग्नेछ ।

कोलकाताबाट रेलका ४२ डब्बामा ल्याइएको मल ढिलोमा मंगलबार बिहानसम्म वीरगञ्ज आइपुग्ने कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार रेलमा ल्याइएको मल आज साँझसम्म वीरगन्जमा आइपुग्नेछ भने ट्रकमा ल्याइएको मल बुधबारसम्म विराटनगरमा पुग्नेछ ।

गत बिहीबार कोलकाताबाट ६ वटा ट्रकमा २५० टन मल विराटनगरका लागि ल्याइएको उनले जानकारी दिए । यसैगरी आज पुनः रेलमा दुई हजार ५०० टन मल नेपालका लागि हिँडिसकेको छ ।

पहिलो लटमा रेल तथा ट्रकमार्फत आउने मल कृषि सामग्री कम्पनीको विराटनगर, वीरगन्ज र भैरहवामा रहेका गोदाममा राखिने कम्पनीले जनाएको छ । बंगलादेशसँग प्रतिमेट्रिक टन २५९.१९५ अमेरिकी डलरमा मल खरीदको सम्झौता भएको प्रबन्ध सञ्चालक भण्डारीले जानकारी दिए । उनका अनुसार कम्पनीबाट रासायनिक मल खरीदको अन्तीम सम्झौतानुसार बंगलादेशसँग प्रतिमेट्रिक टन १८ डलर कममा सम्झौता भएको हो ।

जिटुजीमार्फत मल ल्याउन गत कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई स्वीकृति दिएको थियो । मन्त्रालयको निर्देशनअनुसार कम्पनीले मल खरीदको तयारी गरेको थियो ।

तयारीस्वरुप गत पुस २ गते जिटुजी प्रक्रियामार्फत मल खरीदका लागि कम्पनीका प्रबन्ध सञ्चालक भण्डारी र बंगलादेश केमिकल इन्ड्रस्ट्रिज कर्पोरेसनका अध्यक्ष महम्मद एमिन उल अहसनबीच सम्झौता भएको थियो । सम्झौता भएको साढे तीन महीनापछि पहिलो लटको मल नेपाल आइपुग्न लागेको हो ।

कम्पनीले बंगलादेशबाट ल्याइने रासायनिक मल ढुवानीका लागि गत असोजमा संयुक्त अरब इमिरेट्स (युएई) को जेन्ट्रेड एफजेडएफ कम्पनीलाई जिम्मा दिइसकेको छ ।

पर्याप्त मौज्दात
धान रोप्ने मौसममा रासायनिक मलको अभाव भए पनि हाल पर्याप्त मात्रामा मल मौज्दात रहेको कम्पनीको दाबी छ । कम्पनी र साल्ट ट्रेडिङ कर्पाेरेसनसँग पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको बताइएको छ ।

कृषि कम्पनीसँग हाल ४० हजार मेट्रिक टन डिएपी, सात हजार मेट्रिक टन पोटास र १० हजार मेट्रिक टन युरिया मल मौज्दात छ । चालु आवको बोलपत्रमार्फत साल्ट ट्रेडिङले खरिद गरेको मलसमेत पर्याप्तमात्रामा रहेको छ । सुरुआती चरणमा कृषि कम्पनीको मल बिक्रीवितरण हुनेछ भने कम्पनीको मौज्दात सकिँदै गएपछि साल्ट ट्रेडिङले खरीद गरेको मलको बिक्रीवितरण सुरु हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय