चितवन– चितवन उद्योग संघले औद्योगिक राहत कोष स्थापना गरेको छ । उद्योगमा विपत आइपर्दा सहयोग गर्ने उद्देश्यले कोषको स्थापना गरिएको हो ।

संघका अध्यक्ष राजु पौडेलले आफूले एक लाख राखेर कोषको शुभारम्भ गरेको बताए । उनले भने, ‘कोषमा रकम जम्मा गरेअनुसार विपत पर्दा ६ महिनासम्म बिनाब्याज सहयोग गरिनेछ ।’ कोषमा जम्मा गरेको रकमको १०० गुणा गर्दा आउने रकम बराबरको सहयोग ६ महिनाका लागि गरिनेछ । यस्तो सहयोग अधिकतम ५० लाखसम्म मात्रै उपलब्ध गराइने उनले जानकारी दिए ।

भूकम्प, आगलागी, बाढीपहिरो जस्तो विपतले उद्योग पूर्णरुपमा क्षति भएको अवस्थामा पुनः सञ्चालन गर्न सहयोग उपलब्ध गराइने छ । संघका वरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेलका अनुसार विपत पर्दा तत्काल उद्योग सञ्चालन गर्न कठिन हुने भएकाले यस्तो व्यवस्था गरिएको हो । ‘नेपालमा पहिलोपटक हामीले यो अभियान सुरु गरेका छौं,’ उनले भने ।

अभियानलाई स्थानीय पालिकाले पनि सहयोग गरिरहेका छन् । हालसम्म कोषमा २० लाख जम्मा भइसकेको छ । कालिका र खैरहनी नगरपालिकाले ५–५ लाखको सम्झौता भइसकेको छ भने अन्य पालिकासँग सम्झौता गर्ने तयारी छ ।

भूकम्प, आगलागी, बाढीपहिरो जस्तो विपतले उद्योग पूर्णरुपमा क्षति भएको अवस्थामा पुनः सञ्चालन गर्न सहयोग उपलब्ध गराउने उद्देश्यले राहत कोष स्थापना गरिएको हो ।

संघका उपाध्यक्ष योगराज ओस्तीले जिल्लाका २०० उद्योग यस अभियानमा तत्काल जोडिने अपेक्षा गरिएको बताए । उनले बिमाबाट र थप ऋण पाइनसकेका अवस्थामा तत्काल उद्योग सञ्चालन गर्न कोष प्रभावकारी हुने जानकारी दिए । उद्योगी र पालिका सकारात्मक रहेकाले कोष प्रभावकारी बन्ने उनको भनाइ छ ।

कोषबाट सहयोग लिने उद्योगले अनिवार्य रुपमा कोषमा रकम जम्मा गरेको हुनुपर्ने छ । यस्तो सहयोग रकम बिमाबाट पाएपछि पुनः कोषमै फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ ।

उद्योगी मदन पोखरेलले जिल्लामा विपतका कारण बर्सेनि उद्योगमा क्षति हुने गरेको र कतिपय उद्योग तत्काल पुँजीको अभावमा सञ्चालन गर्न नसकेर बन्दै भएको अवस्थासमेत रहेको बताए । जिल्लामा तीन हजारभन्दा बढी साना ठूला उद्योग छन् । तराईको ठाउँ भएकाले गर्मी मौसममा आगलागी र वर्षातमा बाढी र डुबानको समस्या हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय