काठमाडौं– कोरोना महामारीका कारण थालिएको नेपालको अर्थतन्त्र कोरोनाविरुद्धको भ्याक्सिन (कोभिसिल्ड) सार्वजनिक प्रयोगमा आएसँगै त्यसले नेपाली अर्थतन्त्रलाई नयाँ गति दिएको विज्ञहरुले टिप्पणी गरेका छन् ।

काठमाडौंमा आयोजित ‘कोरोनाले थलिएको व्यापार–व्यवसाय र कोभिसिल्डपछि जुर्मुराएको अर्थतन्त्र’ विषयक अन्तरक्रिया कार्यक्रममा विज्ञहरुले यस्तो टिप्पणी गरेका हुन् । साना तथा मझौला व्यवसाय गर्ने व्यवसायीको छाता संगठन फेडेरेसन अफ नेप्लिज स्टार्ट अप्स एन्ड एसएमइज (फोन्सास)ले आयोजना गरेको कार्यक्रममा विभिन्न क्षेत्रमा रही व्यापार व्यवसाय गरिरहेका व्यवसायी तथा सम्बन्धित क्षेत्रका विज्ञहरुले कोभिसिल्डपछि नेपाली व्यवसायमा नयाँ युग सुरु भएको टिप्पणी गरेका हुन् ।

कार्यक्रममा आफ्नो भनाइ राख्दै फोन्सासका अध्यक्ष अर्जुन भट्टराईले कोभिसिल्डपछि व्यापार व्यवसाय गर्नेलाई व्यवसाय गर्ने ढुक्कको वातावरण बनेको धारणा राखे । कोरोनाका कारण थुप्रै व्यवसाय बन्द हुने अवस्थामा पुगेको बेला कोभिसिल्डले नेपाली व्यवसायलाई नयाँ जीवन दिएको उनको तर्क थियो । ‘कोभिसिल्ड आएपछि अहिले सबैतिर ढुक्कको वातावरण बनेको छ । कोरोनाले सिर्जना गरेको ठूलो त्रासलाई अहिले कोभिसिल्डले मारेको छ । सटिक रुपमा भन्दा कोभिसिल्ड व्यवसायीका लागि मात्र होइन व्यवसायको समेत औसधि बनेको छ,’ उनले भने ।

कार्यक्रममा बोल्दै प्राडा नवराज पन्तले कोभिसिल्डपछि नेपाली अर्थतन्त्रले नयाँ लय समातेको दाबी गरे । लामो समय कोरोनाका कारण थालिएको अर्थतन्त्र कोभिसिल्डपछि थप मजबुत हुने आशा व्यक्त गर्दै उनले कोरोनाविरुद्ध खोप मानिसका लागि मात्र नभई व्यवसायका लागि पनि निकै प्रभावकारी रहेको बताएका छन् । ‘कोभिसिल्ड आएपछि यसले नेपालीलाई छुट्टै आत्मविश्वास त दिएको छ नै, यसले समग्र व्यापार व्यवसायलाई पनि चलायमान बनाउने आत्मविश्वास दिएको छ,’ उनले भने, ‘कोभिसिल्ड नआएको भए व्यापार व्यवसाय चलायमान गराउन अझै गाह्रो अवस्था थियो । व्यवसायीहरु ढुक्क भएर काम गर्ने अवस्था थिएन । अहिले ढुक्कसँग आवतजावत गरेर व्यापारमा संग्लग्न हुने स्थिति कोभिसिल्डकै कारण भएको हो ।’

नागरिक अगुवा परशुराम भट्टराईले पनि कोरोनाका कारण त्रासमा रहेका नेपालीहरुलाई कोभिसिल्डले दिएको आत्मविश्वास निकै महत्त्वपूर्ण र उल्लेखनीय रहेको बताएका छन् । उनले कोभिसिल्ड जनताका लागि एउटा खोप मात्र नभई, सरकारप्रतिको विश्वाससमेत रहेको टिप्पणी गरेका छन् । कोभिसिल्डकै कारण अहिले कोरोनाप्रतिको त्रास पूर्ण रुपमा हट्दै गएको बताउँदै उनले छिटोभन्दा छिटो सबै जनतामाझ कोभिसिल्ड पुर्याउन सरकारले ढिलो गर्न नहुने भनाई राखेका छन् ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ, काठमाडौं जिल्ला समितिका अध्यक्ष शान्तराम बिडारीले सरकारले प्राथमिकताका आधारमा पत्रकारहरुलाई कोभिसिल्डको उपलब्ध गराउनु निकै खुसीको कुरा भएको र यसले फ्रन्टलाइनमा रहेर काम गर्ने पत्रकारलाई नयाँ ऊर्जा दिएको बताए । कोरोना महामारीमा पनि पत्रकारले जोखिम लिएरै जनतालाई सुसूचित गराउने काम गरेको स्मरण गर्दै उनले कोभिसिल्डपछि आमसञ्चारकर्मीको आत्मविश्वास बढेको बताए । कोरोना महामारीका कारण थुप्रै स्वरोजगारमुखी मिडियाहरु पलायन हुनुपर्ने अवस्था सिर्जना भएको स्मरण गर्दै उनले अब त्यस्तो नहुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले कोभिसिल्ड आएपछि व्यापार व्यवसाय गर्ने ढुक्कको वातावरण बनेकाले नेपालको सेयर बजार अझ सुदृढ हुने विश्वाससमेत व्यक्त गरेकी छिन् । कोरोना महामारीका कारण नेपालको अर्थतन्त्रमा नकारात्मक असर परेको भए पनि कोभिसिल्ड आएपछि अर्थतन्त्र पनि चलायमान भएकाले नेपालको पुँजीबजारमा ढुक्कसँग लगानी गर्ने वातावरण बनेको र यसको फाइदा उठाउन उनले सबैलाई आग्रह गरेकी छिन् । नेपालको पुँजीबजार अर्थतन्त्रको ऐना भएको स्मरण गर्दै उनले कोभिसिल्डको प्रभावकारितासँगै यसले नेपाली पुँजीबजारमा पनि सकारात्मक असर बताइन् ।

कार्यक्रममा बोल्दै वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट एवं नेपाल चार्टर्ड एकाउन्टेन्टस संघ (एक्यान)का पूर्वअध्यक्ष हरि सिलवालले कोभिसिल्डले सबै व्यापार, व्यवसायलाई नयाँ र बलियो आत्मविश्वास दिएको बताए । कोरोना महामारीपछि नेपालको अर्थतन्त्र अब कसरी अघि बढ्छ भन्ने विषयमा चर्चा परिचर्चा भएका भेला कोभिसिल्डको आगमनले नेपाली अर्थतन्त्रलाई आफ्नो लयमा फर्काएको र यसको सकारात्मक नतिजा छिट्टै देखिने उनको तर्क छ ।

कार्यक्रममा उपस्थित अन्य वक्ताहरुले कोभिसिल्ड निकै प्रभावकारी भएको बताएका छन् । कोभिसिल्ड लगाएपछिको अनुभव साटासाट गर्ने क्रममा सबैजसो उपस्थितले यसले आफूलाई छुट्टै तहको आत्मविश्वास दिएको बताए । कार्यक्रमका वक्ताहरुले निकै प्रभावकारी खोप भएकाले यसलाई सकेसम्म छिटो सबै नेपालीमाझ पुर्याउनुपर्नेमा जोड दिए । प्राथमिकताका आधारमा सरकारले वितरण गरिरहेको यो खोप सकेसम्म छिटो सबै जनतामाझ पुर्याउन सके यसले नेपाली अर्थतन्त्रलाई थप बलियो गतितर्फ लैजान सक्नेतर्फ सहभागीको जोड थियो ।

साना तथा मझौला व्यवसायीहरुको संगठन फोन्सासले साना तथा मझौला व्यवसाय तथा व्यवसायीले भोग्दै आएका समस्या, यसका समाधान र र वर्तमान अर्थ व्यवस्थाबारे विभिन्न अन्तरक्रिया कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय