
नवलपुर– देशकै प्रतिष्ठित औद्योगिक घरना चौधरी ग्रुप (सिजी)को सामाजिक संस्था चौधरी फाउन्डेसनले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैंडाकोट नगरपालिकामा ‘सिजी उन्नति कल्चर भिलेज’ स्थापना गरेको छ ।
राष्ट्रको मौलिक कला, संस्कृति, साहित्य, वेशभूषा, हस्तकला लगायतको संरक्षण र प्रवर्द्धनका लागि सिजीले नगरपालिकाको हर्कपुरमा कल्चरल भिलेज स्थापना गरेको हो । प्राकृतिक सुन्दरताबीच अवस्थित यहाँ थारू संस्कृति झल्काउने रेस्टुराँ, अतिथिगृह र कोठा छन् । चित्रकलामार्फत थारू जातिका विभिन्न संस्कृति, मेलामहोत्सव र पर्वबारे जानकारी दिइएको फाउन्डेसनका प्रतिनिधि रामचन्द्र धितालले बताए ।
थारू जातिका दैनिकी झल्किने विषयवस्तु केन्द्रित गरेर भिलेज स्थापना गरिएको उनले बताए । यहाँ थारु समुदायबारे जानकारी दिन सक्ने उनीहरुका जीवन झल्किने गरी सिंगो तस्बिर नै कुँदिएका छन् ।
देशकै मुख्य बजार चितवनको नारायणगढबाट करिब १२ किलोमिटर पश्चिममा पूर्वपश्चिम राजमार्गसँगैका भिलेजमा कला संग्रहालय, रंगमञ्च, बाटिका (गार्डेन अफ आर्टस), निसर्ग सयर, क्राफ्ट म्युजियम र क्रियटिभ स्टुडियो छन् । कल्चर अन्तर्गत थारू समुदायको गाउँ, बडाघर डबली, गदला मोद (बार) रहेका छन् । पाहुना खण्ड अन्तर्गत कला घर, बोधी कुञ्ज, थारू घर, आथित्य खण्ड रहेको धितालको भनाइ छ । ‘एक्पिरियन्स’ अन्तर्गत कला र हस्तकला, थारू संस्कृत, जनजाति, आथित्य, प्रांगारिक खेती रहेका छन् ।
चौधरी फाउन्डेसनका महाप्रबन्धक दामोदर भण्डारीले सांस्कृतिक हिसाबले भिलेजमा थारू गाउँ रहेको बताए । यस अन्तर्गत थारू डबली, थारू बार छन् । थारू बारलाई ‘गदला मोद’ नाम दिइएको छ ।
थारू संस्कृतिमा गदला भनेको जाँड र मोद भनेको रक्सी हो । अरू संरचनाको नाम पनि यसैगरी राखिएका छन् । भिलेजमा थारू मात्र नभएर अन्य विभिन्न जातजातिका सांस्कृतिक विषय पनि समावेश गरिएका भण्डारीको भनाइ छ ।
करीब ६ बिघा क्षेत्रफलमा फैलिएको भिलेजमा नेपाली कलाको संग्रहालय पनि छ । भण्डारीका अनुसार नेपाली मौलिक कला र साहित्यको संरक्षण तथा प्रवर्द्धनका लागि भनेर कला केन्द्र बनाइएको हो । कलाघर पनि यहीँ छ, जहाँ सर्जक आएर सिर्जना गर्न सक्छन् । प्रांगारिक खेतीपातीको प्रवर्द्धन र विभिन्न खाद्यान्न उत्पादन गर्ने तरिका प्रदर्शनी गर्न यहाँ विशेष स्थान छुट्याइएको उनले बताए । यहाँको थारू रेस्टुराँमा आउने पाहुनाका लागि यहीँका उत्पादन पस्किइनेछ । सँगै थकाली र नेपाली परम्परागत खानाको स्वाद पनि चखाइने भण्डारीले बताए ।
भिलेजमा ‘कल्चरल मल्टिपर्पस हल’ पनि हुनेछ । भिलेजमा ‘कला बाटिका’का लागि छुट्टै ठाउँ तयार गरिएको छ । यसमा १८ वटा स्थान छुट्याइएका छन्, जसलाई ‘ओपन एयर म्युजियम’ भनिएको छ । यहाँ कलाकारले आफ्ना कलाकृति सिर्जना गर्नेछन्, जसलाई यहीँ प्रदर्शनीमा राखिनेछ ।
भिलेजमा स्थानीय हस्तकलाका विभिन्न सामग्री पनि उत्पादन हुनेछन् । त्यसका लागि दक्षजनशक्ति उत्पादन गर्ने र उत्पादित वस्तुको पहुँच बजारसम्म पुर्याउने योजना छ । नेपाली शिल्प एवं कलाबारे रुचि जगाउन ‘हिस्ट्री म्युजियम’ पनि बनाइएको छ जहाँ नेपाली शिल्पिका प्राचीन, मध्यकालीन र आधुनिक शिल्प हुने फाउन्डेसनका प्रतिनिधि धितालले बताए ।
नवलपुर क्षेत्रका माझी, बोटे, दराई, मगरलगायत संस्कृति पनि यहाँ हुनेछन् । घाटु, सोरठीजस्ता नाच प्रदर्शन गरिनेछ । नेपालका सबै कलाकार एवं साहित्यकार आएर यहाँ आफ्नो कला एवं साहित्य सिर्जना गर्न सकुन् भन्ने भिलेजको लक्ष्य रहेको धितालले बताए ।
भिलेजको अवधारणाले रोजगारी सिर्जनालाई प्रोत्साहन गर्नुका साथै यसले स्वरोजगारीलाई पनि समानान्तर रूपमा अगाडि बढाउने फाउन्डेसनको विश्वास छ । स्थानीयवासीलाई नै सहभागी गराइने भएकाले हस्तकलाका सामग्री उत्पादनदेखि अतिथि सत्कारसम्म उनीहरू नै अग्रपंक्तिमा रहने छन् ।
भर्खरै स्थापना भएको यस भिजेलमा फागुन २८ गतेदेखि उन्नतिसँगको सहकार्यमा दुईदिने ‘फाइनप्रिन्ट फिभर’ महोत्सव आयोजना गरिनेछ । सोही दिन कल्चरल भिलेजको उद्घाटनलगत्तै यो महोत्सव सुरू हुनेछ ।
महोत्सवमा डा बाबुराम भट्टराई, अभिनेत्री मनिषा कोइराला, सांसद गगन थापा र व्यवसायी÷लेखक जीवा लामिछाने, हरि शर्मालगायतसँग छलफल हुनेछ ।
त्यस्तै, काँग्रेस नेता प्रदीप गिरी, अभिनेता राजेश हमाल, उपन्यासकार सुविन भट्टराईसँग पनि रमाइलो संवाद हुने बताइएको छ । डा बाबुराम भट्टराई र सिजी फाउन्डेसन/सिजी कर्प ग्लोबका अध्यक्ष विनोद चौधरीबीच अर्थतन्त्र, विकास र समृद्धिबारे कुराकानी हुनेछ ।