
काठमाडौं– युक्रेनी सेनाले रुसको ब्रेअन्स्क क्षेत्रमा संयुक्त राज्य अमेरिकाले दिएको लामो दुरीको क्षेप्यास्त्र एटीएसीएमएस प्रहार गरेको रिपोर्ट अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरुले सार्वजनिक गरेका छन् । तीमध्ये केहीलाई रोकिएको र एउटा क्षतिग्रस्त भएको रसियाली प्रतिरक्षा मन्त्रालयले मंगलबार बताएको छ ।
रुसविरुद्ध लामो दुरीको अमेरिकी क्षेप्यास्त्र प्रयोगले झन्डै तीन वर्षदेखि जारी रुस–युक्रेन युद्धलाई नयाँ मोडमा लैजाने ठानिएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई आफ्नो मुलुकले दिएको हतियार रुसको भित्री भागमा आक्रमणका लागि प्रयोग गर्न अनुमति दिएको समाचार आएको थियो । मस्कोले लामो दुरीको पश्चिमी हतियारले आफ्नो भूमिमा गरिने आक्रमण नाटो र रसियाबीचको प्रत्यक्ष युद्ध हुने चेतावनी दिएको थियो ।
रुसी रक्षामन्त्रालयको विज्ञप्तिअनुसार किएभले एटीएसीएमएस भनिने पाँचवटा ब्यालेस्टिक क्षेप्यास्त्र मंगलबार रुसमाथि प्रहार गरेको थियो । तीमध्ये पाँचवटालाई एस–४०० र पान्तसिर वायु प्रतिरक्षा प्रणालीले रोकेको र एउटा क्षतिग्रस्त भई ब्रेअन्स्क क्षेत्रको सैनिक इलाकामा खसेको रुसको भनाइ छ । त्यसबाट आगलागी भए पनि कुनै क्षति नभएको रुसको दाबी छ ।
यसअघि युक्रेनी सञ्चार माध्यमले किएभले अन्तर्राष्ट्रिय जगतले मान्यता दिएको रसियाली भूमिमा युद्ध अवधिमा पहिलो पल्ट एटीएसीएमएस प्रहार गरेको समाचार दिएका थिए । उनीहरुले क्षेप्यास्त्र फायर गरेको भिडियो पनि सार्वजनिक गरेका थिए । उक्त आक्रमणको निशाना ब्रेअन्स्क क्षेत्रको हतियार भण्डार रहेको पनि बताइएको छ । तर किएभका सैन्य अधिकारीहरुले उक्त दाबीको पुष्टि गरेका छैनन् ।
यसअघि रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले मुलुकको नयाँ आणविक डक्ट्रिन कार्यान्वयन गर्न आदेश दिएका थिए । उक्त दस्तावेजमा रसियामाथि कुनै गैरआणविक शक्तिले आणविक शक्तिको समर्थनमा गर्ने हमलालाई ती दुवैबाट गरिएको संयुक्त हमलाको रुपमा लिइने उल्लेख छ ।
गत सेप्टेम्बरमा पुटिनले युक्रेनले पश्चिमाहरुले उपलब्ध गराएको हतियार प्रयोग गरेर लामो दुरीको आक्रमण गरेको खण्डमा त्यो जारी द्वन्द्वमा गम्भीर विस्तार मानिने बताएको थियो । किएभले नाटो सदस्य राष्ट्रको प्रत्यक्ष सहयोगविना त्यस्तो आक्रमण गर्न नसक्ने पुटिनको भनाइ छ ।
ब्रेअन्स्क क्षेत्र पश्चिमी रुसमा छ, जो युक्रेन र रुसको सहयोगी बेलारुससँगको सीमावर्ती क्षेत्र हो ।
रुस–युक्रेन युद्ध सन् २०२२ को फेब्रुअरीमा सुरु भएको हो ।