काठमाडौं– मंगलबार बिहानको शक्तिशाली भूकम्पजन्य विपत्तिमा तिब्बतमा ज्यान गुमाउनेको संख्या कम्तीमा ५३ पुगेको र कैयौं व्यक्ति भग्वावशेषमा च्यापिएको चिनियाँ अधिकारीहरुले बताएका छन् । उक्त घटनामा कैयौं व्यक्ति घाइते भएको बताइएको छ ।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाले क्षेत्रीय विपत्ति उद्धार मुख्यालयलाई उद्धृत गर्दै सम्प्रेषण गरेको समाचारमा ६३ जना घाइते भएको उल्लेख छ । पश्चिमी चीनको सो क्षेत्र र नेपालको सीमावर्ती इलाकामा मुख्य भूकम्पपछि दर्जनौं स–साना धक्का महसुस गरिएको छ ।

भग्वावशेषमा पुरिएका व्यक्तिहरुको उद्धारका लागि अग्निनियन्त्रक र उद्धारकर्मी गरी १५ सय जना परिचालन गरिएको आपतकालीन व्यवस्थापन मन्त्रालयले बताएको छ ।

स्थानीय समय अनुसार बिहान ९ बजेर ५ मिनेट (नेपाली समय अनुसार बिहान ६ बजेर ५० मिनेट) मा गएको भूकम्पको गहिराई १० किलोमिटर तल रहेको चाइना अर्थक्वेक नेटवर्क्स सेन्टरले बताएको छ । उक्त नेटवर्क्सले उक्त भूकम्पको म्याग्निच्युट ६.८ डको रहेको बताए पनि अमेरिकी भूकम्प निगरानी संस्था युनाइटेड स्टेट्स जिओलोजिकल सर्भेले ७.१ म्याग्निच्युट मापन गरेको छ ।

६.८ म्याग्निच्युडको भूकम्पलाई शक्तिशाली मानिन्छ, यसले गम्भीर क्षति गराउन सक्छ । मुख्य भूकम्पपछि कैयौं परकम्पनहरु महसुस गरिएको छ । परकम्पमध्ये सबैभन्दा शक्तिशाली ४.४ म्याग्निच्युडको थियो ।

चीनले सुरुमा सिगास्तेको तिंग्री काउन्टको चांग्सुओ, कुलुओ र कुओगुओमा गरी ९ जनाको ज्यान गएको र थुप्रै भवनहरु भत्केको समाचार दिएको थियो । स्थानीय सञ्चारमाध्यमहरुले दर्जनौंको ज्यान गएको बताएका थिए ।

उक्त भूकम्पको धक्का काठमाडौंसम्मै मज्जाले अनुभव गरिएको थियो । बिहान भुइँचालो जाँदा काठमाडौंका मानिसहरु पनि घरबाट भागभाग गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय