धुन्चे– उत्तरी नाका रसुवागढीबाट आयात हुने चिनियाँ सामान ल्हासाबाट सिधै रसुवागढीसम्म ढुवानी हुन थालेको छ । हालसम्म नेपाली व्यवसायीले मगाएका सामग्री पहिलो चरणमा केरुङमा गोदाम गर्ने र त्यहाँबाट ट्रकमा राखेर रसुवागढी पठाउने चलन थियो । यसमा परिवर्तन गर्दै चिनियाँ ढुवानी कम्पनीले ल्हासादेखि सिधै रसुवागढी ल्याउन सुरु गरेको रसुवा भन्सार कार्यालयले जनाएको छ ।

अब चीनबाट सामान आयात गर्दा गोदाम र भरिया खर्चमा कमी आउने तथा महँगो कन्टेनर भाडासमेत घटेपछि व्यापारको लागत कम हुने बताइएको छ । अहिले ल्हासाबाट सामान बोकेका कन्टेनर सिधै रसुवागढी आउन थालेको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए । उनले आयात भएका सामग्री नेपाली कन्टेनरमा पल्टी गरी भन्सार हातामा प्रवेश भइसकेको बताए ।

चिनियाँ ल्होसार पर्वका कारण केही समय उक्त नाकाबाट आयात रोकिएको थियो । गत फागुन २१ गतेदेखि पुनः सञ्चालन भएको ढुवानी अन्तर्गत चिनियाँ व्यापारीले रसुवागढी पुर्याएका सामग्री भन्सार हातामा आएका थिए । आ–आफ्ना सामानको परिमाण घोषणा गर्न आयातकर्ताका प्रतिनिधि समयमै उपस्थित नहुँदा भन्सार जाँचपास भने हुन सकेके छैन ।

उनले सामग्री बोकी आएका करिब ८० मालबाहक ट्रक/कन्टेनर भन्सार हातामा रहेको जानकारी दिए । सामान आयात गर्ने व्यापारीले आफ्नो कन्टेनरमा रहेको सामानका नाम र परिमाण घोषणाको फारम भर्ने प्रावधान रहेको छ । भन्सार जाँचकीले ती सामग्रीको परीक्षण गरी भन्सार शुल्क यकिन गर्दछन् ।

बिग्रने वस्तुमा पर्ने लसुन बोकी आएका केही कन्टेनर भने जाँचपास गरी छोडिएको बताइएको छ । भन्सार शुल्कबापतको राजस्वतर्फ गत फागुन २१ गतेदेखि करिब तीन करोड मात्र संकलन भएको कार्यालयले जनाएको छ ।

कोभिड–१९ को संक्रमण रोकथाम गर्न केरुङसम्मको आउजाउ बन्द भए पनि नेपाली बजारका लागि माल सामान भने मितेरी पुलमा पुर्याई चिनियाँ पक्षले निरन्तर सहयोग गरिरहेको बताइन्छ ।

हाल आयात भएका सामग्रीमा विद्युतीय उपकरण, तयारी पोसाक, जुत्ता चप्पल लगायत छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय