काठमाडौं– विश्वका दुई ठूला अर्थतन्त्रबीच चलेको व्यापार युद्ध चर्किंदा चीनले अमेरिकी वस्तुमा लगाएको ‘जस्तालाई तस्तै अर्थात टिट फर ट्याट’ भन्सार महशुल सोमबारदेखि कार्यान्वयनमा आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले चिनियाँ अन्य मुलुकका वस्तुमाथि पनि कर लगाउने चेतावनी दिइरहेका छन् ।
गत ४ फेब्रुअरीमा अमेरिकाले चिनियाँ वस्तुमा मा १० प्रतिशत नयाँ महशुल लगाउने घोषणा गरेपछि बेइजिङले पनि अमेरिकी वस्तुमा त्यस्तै कर थोपर्ने घोषणा गरेको थियो ।
आइतबार ट्रम्पले अमेरिकामा आयात हुने आल्मुनियम र स्टिलमा २५ प्रतिशत महशुल लगाउने घोषणा गरेका छन् । यसको पूर्ण घोषणा सोमबार हुने बताइएको छ । सुपर बलसम्मको यात्राको क्रममा एयर फोर्स वानको जहाजमा सञ्चारकर्मीसँग बोल्दै उनले अन्य मुलुकका वस्तुमा पनि पारस्परिक महशुल लगाउने योजना आफ्नो रहेको बताएका थिए । तर उनले त्यस्तो मुलुकको नाम भने लिएनन् ।
अमेरिकी वस्तुमा चीनको ताजा महशुलमा अमेरिकी कोइला र तरलीकृत प्राकृति ग्यास आयातमा लाग्ने १५ प्रतिशत महशुल पनि समेटिएको छ । अमेरिकी कच्चा तेल, कृषि मेसिन र ठूला इन्जिनका कारमा पनि चीनले १० प्रतिशत महशुल लगाउँछ ।
गत हप्ता चिनियाँ अधिकारीहरुले गुगलमाथि एकाधिकारविरोधी छानबिन सुरु गरेका छन् । यही बेला डिजाइनर ब्रान्ड केल्भिन क्लेइन र टोम्मी हिलफिगरका मालिक पनि बेइजिङको ‘विश्वास गर्न नसकिने तत्व’को सूचीमा थपिएका छन् ।
चीनले २५ दुर्लभ धातुको निकासी पनि नियन्त्रण गरेको छ । यीमध्ये केही थुप्रै विद्युतीय उत्पादन र सैन्य उपकरणका लागि प्रमुख अवयव हुन् ।
अमेरिकामा आयात हुने स्टिल र आल्मुनियममा २५ प्रतिशत कर लगाउने ट्रम्पको सप्ताहान्तको घोषणा क्यानडा र मेक्सिकोसँग २५ प्रतिशत कर हटाउने सम्झौता भएको केही दिनपछि आएको थियो । ट्रम्पले पहिलो कार्यकालमा पनि स्टिल आयातमा २५ प्रतिशत र आल्मुनियम आयातमा १० प्रतिशत महशुल लगाउने योजना कार्यान्वयन गरेका थिए । तर पछि क्यानडा, मेक्सिको, ब्राजिल लगायतका केही व्यापारिक साझेदारलाई भन्सारमुक्त कोटा दिएका थिए ।









