काठमाडौं– सरकारी स्वामित्वको नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य मंगलबार पुनः बढाएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार मंगलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य वृद्धि गरेको छ ।

नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर ११८ पुगेको छ भने डिजेल, मट्टीतेल प्रतिलिटर १०१ पुगेको छ । यस्तै हवाई इन्धन आन्तरिकको साबिक मूल्यमा दुई रुपैयाँले बढ्दा प्रतिलिटर ७४ रुपैयाँ पुगेको छ । खान पकाउने एलपी ग्यास तथा हवाई इन्धन अन्तर्राष्ट्रियतर्फको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत नै राखिएको छ ।

मूल्य वृद्धिपछि पनि निगमलाई पेट्रोलमा नौ रुपैयाँ ३५ पैसा, डिजेलमा प्रतिलिटर पाँच रुपैयाँ ८० पैसा तथा खाना पकाउने एलपी ग्याासमा प्रतिसिलिन्डर ३९२ रुपैयाँ ८२ पैसा घाटा रहेको निगमको दाबी छ । त्यस आधारमा अर्धमासिक रुपमा निगमलाई एक अर्ब २७ करोड ७० लाख बराबरको घाटा रहेको दाबी गरिएको छ ।

सो घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवस्थापन गरिने छ । इन्डियन आयल कर्पोरेसनबाट मंगलबारै प्राप्त भएको मूल्य अनुसार नै निगमले मूल्य समायोजन गरेको जनाएको छ । यसअघि पेट्रोल प्रतिलिटर ११६, डिजल र मट्टीतेल प्रतिलिटर ९९ मा बिक्री हुँदै आएको थियो । यसअघि निगमले गत फागुन १७ मा मूल्य समायोजन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय