काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच शुक्रबार ह्वाइट हाउसमा भएको वार्ता दुई नेताबीचको असाधारण भनाभनपछि अप्रिय रुपमा टुंगिएको छ । विश्वभरका सञ्चार माध्यमसामु भएको वार्तामा रुस–युक्रेन युद्धका विषयमा दुई नेताहरुबीच अनपेक्षित भनाभन भएको समाचार एजेन्सीहरुले बताएका छन् ।

जेलेन्स्कीले ओभल अफिसमा भएको उक्त वार्तालाई रसियन राष्ट्रपति भ्लादिमिर पुटिनको पक्ष नलिन अमेरिकालाई विश्वस्त बनाउने अवसरको रुपमा हेरेका थिए ।
तर अमेरिकी राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले आफूहरुप्रति अपमान गरेको र युद्धकालको सबैभन्दा महत्त्वपूर्ण सहयोगीसँगको सम्बन्धलाई निकै तल पुर्याएको आरोप जेलेन्स्कीमाथि लगाएका छन् । एकजना अमेरिकी अधिकारीका अनुसार वार्तामा अप्रिय भनाभनपछि जेलेन्स्कीलाई समय अगावै ह्वाइट हाउस छाड्न भनिएको थियो ।

चर्काचर्की भएपछि अमेरिका र युक्रेनबीच युक्रेनको समृद्ध प्राकृतिक स्रोतको विकास मिलेर गर्ने विषयमा हुने भनिएको सम्झौता हुन सकेन । उक्त सम्झौताले अमेरिका र युक्रेनबीचको सम्बन्धलाई सुदृढ बनाउने अपेक्षा युरोपेली सहयोगीहरुको थियो ।

कूटनीतिक मर्यादाको हिसाबले अस्वाभाविक लाग्ने भनाभनमा ट्रम्पले जेलेन्स्कीप्रति औंला उठाएर तिमीले युद्धसँग खेलिरहेका छौ, तेस्रो विश्वयुद्धसँग खेलिरहेका छौ भनेको सुनिन्छ ।

अमेरिकी उपराष्ट्रपति भान्सले दोस्रो विश्वयुद्ध यताकै युरोपको सबैभन्दा ठूलो द्वन्द्व अन्त्य गर्न कूटनीतिको आवश्यकतामा जोड दिएपछि हात बाँधेर बसेका जेलेन्स्कीले पुटिनलाई विश्वास गर्न नसकिने र भान्स कहिल्यै युक्रेन नपुगेको बताए ।

त्यसपछि जेलेन्स्कीले रसियासँगको असफल कूटनीतिक प्रयास सम्झँदै सोधेका छन्– तपाईंले कस्तो खालको कूटनीतिको कुरा गरिरहनुभएको छ जेडी ?

जवाफमा भान्स भन्छन्– मैले त्यस्तो कूटनीतिको विषयमा कुरा गरिरहेको छु जसले तपाईंको मुलुकको विनाश रोक्छ ।

त्यसपछि जेलेन्स्कीले पुटिनप्रतिको ट्रम्पको नरम व्यवहारलाई चुनौती दिँदै भन्छन्– हत्यारासँग सम्झौता नगर्नुहोला ।

भनाभनपछि ट्रम्पले आफ्ना दुई उच्च सहयोगीलाई जेलेन्स्कीलाई ह्वाइट हाउस छाड्ने समय भएको भनिदिन अह्राएका थिए । ह्वाइट हाउस अधिकारीका अनुसार तयार भइरहेको खाना समेत खान नदिई जेलेन्स्की लगायतका युक्रेनी अधिकारीलाई त्यहाँबाट निस्कन भनिएको थियो ।

युक्रेनी अधिकारीहरुले थप छलफल गर्न चाहे पनि उनीहरुलाई ह्वाइट हाउ छाड्न भनिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय