काठमाडौं– सरकारले रामनवमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यही चैत ४ गतेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । यसपालि रामनवमी चैत २४ गते आइतबार परेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिए।
बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा बैतडीका दिनेशप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको सरकार प्रवक्ता गुरुङले बताए ।
अर्घाखाँचीका यदुनाथ पौडेललाई जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रबन्ध सञ्चालकमा नियुक्त गर्न जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सञ्चालक समितिलाई निर्देशन दिने तथा सुर्खेतकी पवित्रा सुवेदी र मकवानपुरका रामशरण सापकोटालाई शिक्षक सेवा आयोगको सदस्यमा नियुक्ति गर्ने निर्णय भएको उनले जानकारी दिए ।









