काठमाडौं– देशकै सबैभन्दा ठूलो रिटेल चेन भाटभटेनी सुपरमार्केटको ट्रक प्रतिबन्धित भेपसहित समातिएको एकजना सांसदले प्रतिनिधिसभामा बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बिहीबारको प्रतिनिधिसभा बैठकमा ७४० वटा भेपसहित भाटभटेनी सुपर मार्केटको ट्रक समातिएकाले त्यसमा संलग्नमाथि कारबाहीको माग गरेका हुन् ।
सांसद झाले सत्तारुढ दल एमालेको पार्टी कार्यालय बनाउने दाता भनेर संरक्षण नगर्न पनि ग्रह गरे । ‘सिन्धुपाल्चोकमा समातिएको ट्रकमा ७४० वटा भेप पाइएको छ । त्यो भाटभटेनी सुपरमार्केटको भएको भन्ने कुरा खुलिसकेको छ । त्यसलाई राजनीतिक दल र त्यसमा पनि प्रधानमन्त्रीज्यूको पार्टी कार्यालय बनाउने दाता भएको हुनाले संरक्षण नगरियोस्,’ उनले भने ।
भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङले कीर्तिपुरमा एमालेको मुख्यालय बनाउन जग्गा दान दिएका छन् । उक्त जग्गामा भवन बनाइदिने घोषणा उनले गरेका छन् ।









