काठमाडौं– चालु आर्थिक वर्ष २०८१–८२ को ९ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५७ प्रतिशतभन्दा धेरैले निर्यात बढे पनि व्यापार घाटा ९ खर्ब ८७ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ ।
निर्यातको आकार सानो र आयातको आकार ठूलो हुँदा निर्यातमा आएको ठूलो सुधारले पनि व्यापार घाटा न्यूनीकरणमा खासै योगदान गर्न नसकेको हो ।
मुलुकबाट हुने वस्तु आयात र निर्यातको तथ्यांक राख्ने निकाय भन्सार विभागका अनुसार गएको साउनदेखि फागुनसम्ममा नेपालबाट १ खर्ब ५८ अर्ब १७ करोड २४ लाख रुपैयाँको वस्तु निर्यात भएको छ । अघिल्लो वर्ष सोही अवधिमा १ खर्ब ६१ लाख ७४ हजार रुपैयाँको वस्तु निर्यात भएको थियो । चालु वर्षको वस्तु निर्यात अघिल्लो वर्षको तुलनामा ५७ दशमलव २० प्रतिशतले बढी हो ।
चालु वर्षको फागुनसम्ममा ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख रुपैयाँको वस्तु आयात भएको छ । यस अवधिमा आयात ११.२० प्रतिशतले बढेको छ ।
चालु वर्षको ९ महिनाको कुल वैदेशिक व्यापार १३ खर्ब ३ अर्ब नाघेको छ । यो अघिल्लो वर्षको तुलनामा १५.२९ प्रतिशतले बढी हो ।









