काठमाडौं– सर्वसाधारण रिसाउने जोखिमबीच सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाएको छ । सोमबार सम्पन्न मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदमुक्त गरी उनको ठाउँमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको स्रोतले बताएको छ ।
सरकारी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले भने त्यो कुरा आफूलाई थाहा नभएको सञ्चारकर्मीलाई प्रतिक्रिया दिएका छन् ।
मन्त्रिपरिषद् बैठकले कुलमानमाथि चारबुँदे आरोप लगाउँदै ३ दिनभित्र स्पष्टीकरण पेस गर्न आदेश दिएको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले कुलमानलाई स्पष्टीकरण सोधेका थिए ।
मूल्य बढाएर भारतसँग विद्युत् खरिद सम्झौता गरेको, कार्यसम्पादन मूल्यांकनका लागि समयमा विवरण नबुझाएको, त्यसमा शून्य अंक पाएको र प्राधिकरणको नक्कली नाफा देखाएर प्रचार गरेको लगायत आरोप सरकारले उनीमाथि लगाएको थियो ।
सरकारले सोधेको स्पष्टीकरणको जवाफ कुलमानले ७ वटा बुँदामा दिएका थिए । कुलमानले आफूमाथि कुनै पनि कारबाही हुन नपर्ने जिकिर गर्दै स्पष्टीकरण बुझाएका थिए । उनले मन्त्रिपरिषद्ले सोधेको स्पष्टीकरणमा मन्त्री पूर्वाग्राही भएको समेत उल्लेख गरेका थिए ।









