काठमाडौं- नेपालले पछिल्लो आठ महीनामा करीब ५६ अर्ब रुपैयाँ बराबरको खानेतेल निर्यात गरेको छ । भारतले खानेतेल आयातमा भन्सार बढाएपछि नेपालबाट हुने निर्यात बढेको हो ।

भारतले खानेतेलमा भन्सार बढाए पनि साफ्टा सुविधा अन्तर्गत नेपालमा उत्पादित खानेतेल सहुलियत दरको भन्सार तिरेर निर्यात गर्न पाइन्छ । विगतमा भारतले खानेतेल आयातमा भन्सार घटाएका बेला नेपालबाट हुने निर्यात अघिल्ला वर्षहरूको तुलनामा घटेको थियो ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष आयात ११ दशमलव २० र निर्यात ५७.२० प्रतिशतले बढेको छ । गतवर्षको तुलनामा यस वर्ष नेपालको निर्यातमा खानेतेलको निकै ठूलो हिस्सा देखिएको छ ।

पछिल्लो आठ महिनामा १ खर्ब ५८ अर्बको निर्यात गर्दा नेपालले ४७ अर्ब ९४ करोड ६६ लाख बराबरको भटमास (सोयाबिन) तेल मात्रै निर्यात गरेको छ । त्यस्तै, ७ अर्ब ९८ करोड २३ लाख रुपैयाँ बराबरको सूर्यमुखी तेल, ५ अर्ब ८३ करोड ७३ लाखको अलैंची र ४ अर्ब ३२ करोड ३९ लाखको कार्पेट निर्यात भएको छ ।

विभागका अनुसार चालु वर्षको फागुनसम्ममा १३ खर्ब ३ अर्ब ७३ करोड ८६ लाख बराबरको वैदेशिक व्यापार गर्दा ९ खर्ब ८७ अर्ब ३९ करोड ३८ लाखको घाटा बेहोरेको छ । पछिल्लो आठ महिनामा ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख रुपैयाँको वस्तु आयात भएको छ भने १ खर्ब ५८ अर्ब १७ करोड २४ लाख रुपैयाँको वस्तु निर्यात भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय