
काठमाडौं– काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीको प्रदर्शन हिंसात्मक भएपछि प्रशासनले सो क्षेत्रमा कर्फ्यु (निषेधाज्ञा) लगाएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा ४ बजेर २५ मिनेटदेखि राति १० बजेसम्मका हिँडडुल गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले सो क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको जानकारी दिए। गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरबाट जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुल, नयाँबानेश्वर चोकदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
यस क्षेत्रभित्र आवतजावत गर्न र कुनै पनि प्रकारको भेला, जुलुस र प्रदर्शन गर्न निषेध गरिएको छ।
यसअघि तीनकुने क्षेत्रमा राजावादीले गरेको प्रदर्शनका क्रममा निजी सम्पत्ति तोडफोड हुनुका साथै सुरक्षाकर्मीमाथि ढुंगामुडा भएको थियो । सो क्रममा प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको थियो ।
राजावादी समूहले काठमाडौंको आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड गरेको छ । प्रर्दशनकारीहरुले पेरिसडाँडामा रहेको माओवादी पार्टी कार्यलयमा समेत आक्रमण र तोडफोडको प्रयास गरेका थिए ।