काठमाडौं– विश्व बैंकले चालु आर्थिक वर्ष २०८१–८२ मा नेपाली अर्थतन्त्रको ४.५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । यो प्रक्षेपण अघिल्लो आर्थिक वर्ष २०८०–८१ को वृद्धिदर ३.९ प्रतिशतको तुलनामा बढी हो । गत असोजको प्राकृतिक विपत्तिले ठूलो जनधनको ठूलो क्षति गराए पनि विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर बढ्ने प्रक्षेपण गरेको छ ।

विश्व बैंकले बिहीबार सार्वजनिक गरेको ‘नेपाल विकास प्रतिवेदन ः आर्थिक वृद्धि उकास्नका लागि उत्थानशीलताको लाभ उपयोग तथा सुधार कार्यान्वयन’ अनुसार, यो वृद्धि मुख्यतः आन्तरिक व्यापार, जलविद्युत् तथा धान उत्पादनको वृद्धिबाट निर्धारित हुनेछ । प्रतिवेदनले आगामी दुई आर्थिक वर्षमा नेपालको अर्थतन्त्रले औसत ५.४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण पनि गरेको छ, जसमा सेवा क्षेत्रको प्रभाव उल्लेख्य रहनेछ ।

‘नेपालले आवश्यक रोजगारी सिर्जना गर्न निजी क्षेत्रले अगुवाइ गरेको आर्थिक वृद्धिलाई बढावा दिनु अत्यावश्यक छ । यसलाई हासिल गर्नका लागि नेपालले आफ्नै उत्थानशीलत वृद्धिको प्रभावशाली इतिहासको जगमा प्रमुख संरचनागत सुधारहरू कार्यान्वयन गर्न आवश्यक छ,’ विश्व बैंकका माल्दिभ्स, नेपाल, र श्रीलंकाका लागि राष्ट्रिय विभागीय निर्देशक डेभिड सिसलेनले भने ।

प्रतिवेदनले नेपालको आर्थिक परिदृश्यमा रहेका सम्भावित जोखिम (अपेक्षित प्रतिफल कम भएर लगानी ह्रास)हरूलाई पनि औंल्याएको छ, जसमा भू–राजनीतिक र व्यापारसम्बन्धी अनिश्चितता समावेश छन् । यसले नेपालको वित्तीय क्षेत्रमा ऋणको गुणस्तरमा थप गिरावट आउन सक्ने सम्भावनाका साथै सरकारले बारम्बार कर्मचारीहरूको सरुवा गर्ने कारण उत्पन्न हुने नीतिगत असंगतिको जोखिम तथा पूँजीगत बजेट कार्यान्वयनमा हुने ढिलाइका सम्बन्धमा पनि उल्लेख गरेको छ ।

‘नेपाल डेभलपमेन्ट अपडेटले पछिल्ला आर्थिक विकासबारे महत्वपूर्ण अन्तरदृष्टि प्रदान गर्नुका साथै नेपालको उत्थानशील आर्थिक वृद्धिलाई प्रकाश पार्दछ । नेपालको १६औं योजना लक्ष्यहरू हासिल गर्न आर्थिक वृद्धिलाई थप मजबुत बनाउनुपर्ने भएकाले प्रभावकारी पुँजीगत बजेट कार्यान्वयन एवं चालु परियोजनाहरू समयमै सम्पन्न गर्न आवश्यक छ,’ राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा. शिवराज अधिकारीले भने ।

नेपाल डेभलपमेन्ट अपडेट वर्षमा दुईपटक प्रकाशित हुने प्रतिवेदन हो, जसले अघिल्लो वर्षका प्रमुख आर्थिक घटनाक्रमहरूलाई दीर्घकालीन विश्वव्यापी सन्दर्भमा राखेर विस्तृत विश्लेषण प्रदान गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय