तानसेन– कालीगण्डकी नदीमा पानीजहाज सञ्चालनका लागि सर्भे गरिएको छ । पाल्पाको राम्दीदेखि देवघाटसम्म जलयान सञ्चालन गर्न ६ वटा समूहले स्थलगत परीक्षण तथा सर्भे गरेका हुन् । पाल्पाको राम्दीदेखि देवघाटसम्म १३५ किलोमिटर जलयान सञ्चालनको योजना बनाइएको छ ।

सरकारले नेपालका विभिन्न नदीमा जस्तै कालीगण्डकीमा पनि पानीजहाज सञ्चालन गर्न बिहीबारदेखि सर्भे सुरु गरिएको नेपाल पानीजहाज कार्यालय काठमाडौंका निमित्त प्रमुख विपिनराज भण्डारीले जानकारी दिए । उनले अन्तर्राष्ट्रियस्तरमा सञ्चालन हुने पानीजहाजमा नेपालको झन्डा राखेको पानीजहाज सञ्चालन गर्ने योजना रहेको र आन्तरिक रुपमा नेपालका नदीमा पानीको बहावअनुसारका साना खालका पानीजहाज सञ्चालन गरिने बताए ।

कोसी नदीमा तुम्लिङटारदेखि चतरासम्म, नारायणीमा देवघाटबाट तल गण्डकसम्म काली नदीमा राम्दीदेखि देवघाटसम्म तथा कर्णाली नदीमा जहाज सञ्चालनका निम्ति सर्भेको काम गरिएको नेपाल पानीजहाज कार्यालय काठमाडौंका निमित्त प्रमुख भण्डारीको भनाइ छ ।

जलस्रोतविद् अनुप खनालले नदीमा पानीको सतहलाई हेर्दा पानीजहाज सञ्चालनका निम्ति सम्भव रहेकामा जोड दिए । जलस्रोतविद् खनालले कालीगण्डकी नदीमा नेपालमै पहिलो पटक अत्याधुनिक मेसिनबाट पानीको गहिराइ नाप गरिएको, केही ठाउँमा गहिराइ नपुग्ने तथा छेउछाउका ढुंगा हटाउनुपर्ने ठाउँमा हटाउने र अन्तर्राष्ट्रियस्तरमा भएका प्रयासलाई प्रयोग गरी तयार गरेको प्रतिवेदन सरकारलाई बुझाउने जानकारी दिए ।

६ वटा टोलीले कालीगण्डकी नदीमा परीक्षण गर्दैछ । २०४०-४१ तिर पानीको अनुमानित आकलनबाट पनि सञ्चालन भएको जलयान कालीगण्डकी नदीमा सफल भएकाले अहिले प्रविधिको प्रयोगबाट सुरक्षित हिसाबले नापजाँच परीक्षण गरिएको टोलीले जानकारी दिएको छ । आफ्नो क्षेत्रमा राष्ट्रिय गौरवको योजनाका रुपमा कालीगण्डकीमा पानीजहाजको अवधारणा अघि सारिएको संघीय सांसद दलबहादुर रानाले बताए ।

काली नदीको किनारैकिनार करिडोर तथा कालीगण्डकीमा पानीजहाज सञ्चालन भयो भने छिमेकी देश भारतसम्म यहाँ उत्पादित सामानलाई बिक्री वितरणलगायत सामान आयात निर्यातमा समेत सहज हुने सांसद रानाको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय