काठमाडौं– नेपाल राष्ट्र बैंकको गभर्नरबाट अवकाश लिएका महाप्रसाद अधिकारीको सम्पत्ति २३ लाख ४४ हजार रुपैयाँभन्दा धेरैले बढेको राष्ट्र बैंकले जनाएको छ । अधिकारीको नगद मौज्दात र म्युचुअल फन्डलगायत सुरक्षणपत्रको वृद्धिका कारण केही सम्पत्ति बढेको पाइएको छ ।
अधिकारीले २०७६ चैतमा बुझाएको विवरणअनुसार सुनचाँदीको मूल्य पनि बढेको छ ।
उक्त अवधिमा उनको घरजग्गाको मूल्य यथावत छ भने बैंक मौज्दात तथा सञ्चय कोष रकम १३ लाख ८८ हजारबाट २८ लाख ४४ हजार रुपैयाँ पुगेको छ । खातामा रहेको रकम १ करोड ८ लाख ५१ हजार रुपैयाँ छ । नगद, सुन, चाँदीको मूल्य ५ लाख ३ हजारबाट बढेर ९ लाख ८८ हजार रुपैयाँ पुगेको छ ।
यसैगरी म्युचुअल फन्डलगायत सुरक्षणपत्रमा लगानी वृद्धि भई १ करोड ५७ लाखबाट १ करोड ८९ लाख रुपैयाँ नाघेको छ । उनको खुद प्राप्त हुनुपर्ने रकम पनि ६२ हजारबाट बढेर २४ लाख ९ हजार रुपैयाँ पुगेको छ ।
अन्य विभिन्न प्रकारका सम्पत्तिमा समेत सामान्य वृद्धि भएको छ । समग्रमा हेर्दा अधिकारीको बैंक खातामा रहेको अमेरिकी डलरबाहेकको कुल सम्पत्ति २०७६ चैतमा ३ करोड ४५ लाख ९१ हजार रहेकोमा २०८१ चैत २२ सम्म आइपुग्दा ३ करोड ६९ लाख ३६ हजार रुपैयाँ पुगेको छ । उनको बैंक खातामा २८ हजारभन्दा बढी अमेरिकी डलर छ ।









