भजनी (कैलाली)– भजनी नगरपालिका–९ का हेमराज चौधरीको आर्थिक अवस्था कमजोर छ । उनलाई खाना पकाउन दाउरा चाहिन्थ्यो । दाउराको आवश्यकता उनले नजिकैको सामुदायिक वनबाट टार्दै आएका थिए । अहिले उनी दाउरा बालेर खाना पकाउनुपर्ने बाध्यताबाट मुक्त भएका छन् । ओम शान्ति सामुदायिक वनले ग्यास सिलिन्डरसँगै चुल्हो पनि वितरण गरेपछि उनको मुहारमा चमक आएको छ ।

सामुदायिक वनले विपन्न उपभोक्तालाई ग्यास र चुल्हो वितरण गरेसँगै हेमराजजस्तै १८० परिवार दाउराको निर्भरताबाट मुक्त भएका छन् । हेमराज भन्छन्, ‘ग्यास चुल्हो पाएपछि त्यसैको सदुपयोग गर्छौं । जंगल गएर दाउरा खोज्नुपर्ने बाध्यता अन्त्य भएको छ ।’

वर्षौंदेखि दाउरा बालेर खाना पकाउनुपर्ने बाध्यता अन्त्य भएपछि सामुदायिक वनकी उपभोक्ता मधुदेवी चौधरी पनि दङदास छिन् । ‘दाउराको जोहो गर्ने दिन गए । अब दाउरा खोज्ने समय अन्य काममा सदुपयोग गर्छु,’ उनले भनिन्, ‘सिलिन्डरसँगै सँगै चुल्हो पनि पाएपछि हामी खुसी छौं ।’

उपभोक्ता सुनिता चौधरीलाई यस वर्ष वर्षात्को समयमा हुने चिन्ता हटेको छ । दाउरामै खाना पकाउनुपर्ने बाध्यतामा रहेकी सुनिताले वर्षातको समयमा दाउरा पानीले भिजेको हुने हुँदा खाना पकाउन निकै दुःख हुने गरेको बताइन्। ‘दाउरा ओभानोमा राख्ने ठाउँ छैन । आँगनमा राखेका दाउरा राम्रोसँग बल्दैनन्,’ उनी भन्छिन्, ‘अब त्यो पीडा फर्केर आउने छैन । घरमा ग्यास भएपछि खाना पकाउन सहज भएको छ ।’

विपन्न परिवारका आशाराम चौधरी सामुदायिक वनले ग्यास चुल्हो उपलब्ध गराउँदा आगामी दिनमा समयको बचत हुने बताउँछन् । उनले दाउरा खोज्ने समय उत्पादनका क्षेत्रमा सदुपयोग गर्न सकिने बताए । ‘एक जना दाउराको खोजीमा हिँड्नुपर्थ्यो । त्यति मात्र नभई खाना पकाउन पनि एक जनाको दैनिकी बन्दै आएको थियो,’ उनले भने, ‘अब खाना पकाउन कसैलाई जिम्मा दिएर राख्नुपर्ने छैन । जतिबेला पनि खाना पकाएर खान सकिने भएको छ ।’

वनको आम्दानीबाट १८० परिवारलाई प्रतिपरिवार ८ हजार रुपैयाँका दरले ग्यास चुल्हो वितरण गरिएको वनका अध्यक्ष राजकुमार चौधरीले जानकारी दिए। ‘बर्सेनि उपभोक्तालाई दाउरा उपलब्ध गराउनुपर्ने हुन्थ्यो । उहाँहरूको मागअनुसार दाउरा उपलब्ध नहुँदा झन् जंगल बढी मासिन थाल्यो,’ उनले भने, ‘अब अधिकांश विपन्न परिवारले ग्यास चुल्हो पाएका छन् । जंगल जोगिने आशा छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय