काठमाडौं– चालु आर्थिक वर्ष २०८१–८२ को आठ महिनामा मुलुकमा साढे १० खर्ब रुपैयाँभन्दा बढी विप्रेषण भित्रिएको तथ्यांक नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार गत साउनदेखि फागुनसम्मको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार विप्रेषण आप्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९.४ प्रतिशतले बढेर १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ पुगेको हो ।

यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ३ लाख १७ हजार ६८ र पुनःश्रम स्वीकृति लिनेको संख्या २ लाख १७ हजार ४०३ रहेको छ । यो अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ११ खर्ब ४८ अर्ब १२ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी यस अवधिमा चालु खाता १ खर्ब ८० अर्ब ८ करोडले बचतमा रहेको छ । यो अवधिमा ८ अर्ब ४९ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको पनि राष्ट्र बैंकले जनाएको छ ।

गत फागुन मसान्तसम्ममा शोधनान्तर स्थिति ३ खर्ब १० अर्ब ३७ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब २७ अर्ब ५५ करोडले बचतमा रहेको थियो ।

गत असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति पछिल्लो ८ महिनामा १८ प्रतिशतले वृद्धि भई २४ खर्ब ०९ अर्ब २५ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २१ खर्ब ३० अर्ब ३१ करोड पुगेको छ भने बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २ खर्ब ७८ अर्ब ९५ करोड रुपैयाँ कायम भएको छ ।

चालु आर्थिक वर्षको ८ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १७.२ महिनाको वस्तु आयात र १४.३ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय