काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा शक्ति प्रदर्शनको होडबाजी चलिरहेका बेला पूर्वमन्त्री मोतिलाल दुगडले पनि शक्ति प्रदर्शन गर्न लागेका छन् ।

उनले झण्डै आधा हजार व्यापारीलाई शुक्रबार साँझ बालुवाटार बोलाएर आफ्नो शक्ति देखाउन लागेका हुन् । स्रोतका अनुसार पूर्वउद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री र अहिले प्रधानमन्त्री ओलीका विशेष आर्थिक सल्लाहकार रहेका दुगडको पहलमा प्रधानमन्त्रीले अहिले ५ः०० बजेबाट उनको सरकारी निवास बालुवाटारमा करिब पाँच सय व्यापारी, व्यवसायीलाई भेट गर्दैछन् ।

यो भेटघाटमा मुलुकको राजनीतिक अवस्था, कोरोना महामारी र लकडाउनले व्यवसायमा परेको असर, त्यसपछिको अवस्थाबारे छलफल हुने स्रोतले जनाएको छ । प्रधानमन्त्रीले निजी क्षेत्रका प्रतिनिधि संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, साना र मझौला उद्योगी र व्यापारीलाई भेटेर व्यापारको अवस्था बुझ्न खोजेको दुगडले बताएका छन् ।

कतिपय व्यवसायीले भने व्यापारी मन्त्री दुगडले राजनीतिक र व्यावसायिक क्षेत्र दुवैलाई आफ्नो शक्ति देखाउन यो जमघटको आयोजना गरेको बताएका छन् । ‘प्रधानमन्त्रीले व्यापारी, व्यवसायीलाई प्रत्यक्ष भेटेर गुनासो सुन्नु आफैंमा राम्रो र ऐतिहासिक घटना हो,’ दुगडलाई नजिकबाट चिन्ने एकजना व्यवसायीले भने, ‘यसले उहाँ (दुगड)लाई एमालेमा आफ्नो स्थान सुरक्षित गर्न पनि सकारात्मक योगदान गर्नेछ । उहाँले त्यो कुरा बुझेरै भेटभाटको आयोजना गर्नुभएको जस्तो देखिन्छ ।’

यसलाई चारैतिरबाट आलोचना खेपिरहेका प्रधानमन्त्रीको व्यापारी, व्यवसायीबाट सहानुभूति बटुल्ने प्रयासको रुपमा पनि हेरिएको छ । यो भेटघाटले आगामी निर्वाचनमा व्यापारी, व्यवसायीको आर्थिक र नैतिक समर्थन जुटाउन सहयोग गर्ने बुझाइ रहेकाले प्रधानमन्त्री ओलीले पनि भेटघाट गर्न चाहेको बालुवाटार निकट स्रोतले बतायो ।

पदको आयु अनिश्चित रहेका बेलाको यो जमघटलाई आफैंमा अर्थपूर्ण मानिएको छ । भेटघाटपछि प्रधानमन्त्रीले व्यवसायीलाई बालुवाटारमै रात्रिभोज दिने स्रोतको भनाइ छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय