वीरगन्ज (पर्सा)– सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बल पर्साको सक्रियता बढाएसँगै छिमेकी मुलुक भारतबाट भन्सार छलीका सामान बरामद हुने क्रम ह्वात्तै बढेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेडक्वार्टरका गणपति राधेश्याम धिमालले एक वर्षको अवधिमा ४१ करोड ९२ लाख ३१ हजार ७०७ रुपैयाँको अवैध तथा शंकस्पद मालसामान बरामद गरेको जानकारी दिनुभयो ।

‘सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै अवैध चोरी पैठारी गरेर भित्रिने लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हार्डवेयर, मोटरपार्ट्स, खाद्यान्न पदार्थ र किरानाका सामान बरामद हुने क्रम बढेको छ,’ उनले भने, ‘सशस्त्र प्रहरीले वीरगन्ज भन्सार नाकामा दुईवटा तालिमप्राप्त कुकुर पनि खटाएर जाँच गर्दै आइरहेको छ ।’

सशस्त्र प्रहरी बलले २०८१ वैशाखदेखि २०८२ वैशाख ६ गतेसम्म रु २८ करोड ११ लाख छ हजार ४८७ मूल्यका भन्सार छली गरेर भित्र्याइएका लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हार्डवेयर, मोटरपार्ट्स, खाद्यान्न पदार्थ र किराना सामान वीरगन्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।

त्यसैगरी, सोही अवधिमा १३ करोड ८१ लाख २५ हजार २२० रुपैयाँ मूल्यको बिलबिजक नभएका सामान भने राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जनाएको छ ।

गणपति धिमालले सशस्त्र प्रहरी बलले जिल्लामा एक सय सात किलोमिटर खुला सीमाको सुरक्षा, सीमानाकामा हुने अवैध चोरीपैठारी निकासी रोकथाम र सीमावासीसँग सशस्त्र प्रहरीलगायतका कार्यक्रम गर्दै आइरहेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय