काठमाडौं– भारत प्रशासित कास्मिरस्थित लोकप्रिय पर्यटकीय स्थल पहलगाममा मंगलबार स्थानीय पर्यटकलाई लक्ष्य गरी भएको आक्रमणमा २० जनाभन्दा धेरैको ज्यान गएको विवरण भारतीय लगायत अन्य अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बाहिर ल्याएका छन् । उक्त घटनामा एकजना नेपालीको पनि ज्यान गएको आशंका गरिएको छ ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले उक्त घटनामा नेपाली नागरिकको ज्यान गएको भन्ने विवरणको पुष्टि गर्ने प्रयास जारी रहेको जनाउँदै त्यससम्बन्धी विवरण प्राप्त हुनासाथ अद्यावधिक गरिने बताएकी छिन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनालाई आतंकवादी हमला भन्दै त्यसमा जिम्मेवार जोकोहीलाई पनि नछोडिने उद्घोष गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युरोपेली संघकी प्रमुख उर्जुला फोन देर लेयनसहितका विश्वनेताहरूले उक्त घटनाको भर्त्सना गरेका छन् ।
भारतीय सञ्चारमाध्यमहरूले उक्त घटनामा एक नेपाली नागरिक पनि परेको विवरण प्रकाशित गरेका छन् ।

दिल्लीस्थित नेपाली राजदूत शंकर शर्माले नेपाली नागरिक परेका हुन् कि हैनन् भनेर भारतीय प्रहरी र विदेश मन्त्रालयसँग बुझ्ने प्रयास भइरहेको बताए ।

‘मृत्यु भएकामध्ये एक जनाको नाम र थर नेपालीजस्तो भएका कारण हामीले यहाँको प्रहरी र विदेश मन्त्रालयसँग बुझ्ने प्रयास गरिरहेका छौं। नेपालतर्फबाट पनि अहिलेसम्म कसैले सम्पर्क नगरेका कारण नेपाली भए नभएको भन्न सकिने अवस्था छैन,’ बीबीसीको नेपाली सेवाले शर्मालाई उद्धृत गरेको छ ।

नेपाली दूतावासका अनुसार उक्त क्षेत्रमा घुम्न र मौसमी कामदारका रूपमा नेपालीहरू पनि जाने गरेका छन् ।

तर नेपाली भएको आशंका गरिएका व्यक्तिसँग अन्य नेपालीहरू पनि त्यस क्षेत्रमा गए नगएकोबारे पनि बुझ्ने प्रयास भइरहेको राजदूत शर्माले बताए ।

उक्त घटनामा मर्ने एकजना भारतीय सैनिक अधिकारीले ६ दिनअघि मात्र विवाह गरेको भारतीय पत्रिका द हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणमा उल्लेख छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय