काठमाडौं– यो वर्ष अमेरिकी अर्थतन्त्रको वृद्धिदर १.८ प्रतिशतमा खुम्चिने अनुमान अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) गरेको छ । यसअघि जनवरीमा उसले अमेरिकी अर्थतन्त्र २.७ प्रतिशतले बढ्ने अनुमान सार्वजनिक गरेको थियो ।

आर्थिक वृद्धिदरमा संकुचन आउने अनुमान गर्नुपर्नाको कारण डोनाल्ड ट्रम्पले घोषणा गरेको व्यापार शुल्कका कारण उत्पन्न अनिश्चितता भएको आईएमएफको भनाइ छ ।
कोषले व्यापार शुल्कमा भएको तीव्र वृद्धि र अनिश्चितताले विश्व अर्थतन्त्रको विस्तारमा ‘उल्लेख्य कमी’ ल्याउने भविष्यवाणी गरेको छ ।

विश्वको दोस्रो ठूलो चिनियाँ अर्थतन्त्र यस वर्ष ४ ले बढ्ने अपेक्षा गरिएको छ, जुन आईएमएफको यसअघिको अनुमान ४.६ प्रतिशतभन्दा कम हो ।

बेलायती वृद्धिदरको पूर्वानुमान पनि १.१ प्रतिशतमा घटाइएको छ । तर आईएमएफले बेलायतको आर्थिक वृद्धि जर्मनी, फ्रान्स र इटालीभन्दा बलियो हुने बताएको छ ।

वासिंगटनमा आईएमएफ र विश्व बैंकको वसन्तकालीन बैठकका लागि शीर्ष आर्थिक नीति निर्माताहरू भेला भएको बेला यी भविष्यवाणीहरू आएका छन् । आईएमएफका प्रमुख अर्थशास्त्री पियरे–ओलिभियर गोरिंचासले विश्वव्यापी अर्थव्यवस्थाले विगत चार वर्षका गम्भीर झट्काहरुबाट अझै महत्त्वपूर्ण घाउहरू बोकेको बताए । ‘अब यो फेरि एक पटक गम्भीर रूपमा परीक्षण भइरहेको छ,’ उनले भने ।

मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलको कडा आलोचना गरे पनि उनलाई ‘बर्खास्त गर्ने मनसाय नभएको’ बताएका थिए । ट्रम्पले पावेललाई बर्खास्त गर्न सक्ने चिन्ताले हालैका दिनहरूमा बजारमा गिरावट आएको थियो ।

ट्रम्पले यस वर्ष अन्य देशबाट अमेरिका भित्रिने सामानहरूमा थप भन्सार शुल्कहरु घोषणा गरेका छन् । बढ्दो व्यापार युद्धमा अमेरिकाले चिनियाँ सामानमा १४५ प्रतिशतसम्म थप शुल्क लगाएको छ । जवाफमा चीनले पनि अमेरिकी उत्पादनहरूमा १२५ प्रतिशत कर लगाएको छ ।

अमेरिकाले अधिकांश अन्य देशहरूबाट आउने सामानमा १० भन्सार (व्यापार शुल्क) लागू गरेको छ । ट्रम्पले दर्जनौं देशका लागि घोषित उच्च करका दरहरु भने ९० दिनसम्मका लागि स्थगित गरेका छन् ।

ट्रम्पले व्यापार शुल्कले अमेरिकी उपभोक्तालाई स्वदेशमै उत्पादित सामान किन्न प्रोत्साहन गर्ने, राजस्वको आकार बढ्ने र देशमा ठूलो लगानी हुने बताएका छन् ।

आईएमएफले भने आधुनिक आपूर्ति शृंखलाहरू धेरै अन्तरसम्बन्धित भएकोले अमेरिकी करले विश्वव्यापी व्यापारमा पर्न सक्ने नकारात्मक प्रभाव बारे चर्चा गरेको छ ।

व्यापार नीतिजन्य अनिश्चितता वृद्धिदर कटौतीको प्रमुख कारक रहेको गोरिंचासले बताए । ‘बढेको अनिश्चितताको सामना गरिरहेका… धेरै कम्पनीहरूको प्रारम्भिक प्रतिक्रिया लगानी रोक्ने, घटाउने र खरिद कटौती गर्ने हुनेछ,’ उनले भने ।

आईएमएफले यस वर्ष विश्व अर्थतन्त्र २.८ प्रतिशतले बढ्ने भविष्यवाणी गरेको छ, जुन यसको अघिल्लो ३.३ प्रतिशतको पूर्वानुमानभन्दा कम हो । सन् २०२६ मा विश्व अर्थतन्त्रको आकार ३.० प्रतिशतले बढ्ने उसको अनुमान छ ।

अमेरिकी वृद्धिदरको पूर्वानुमानमा कटौती गर्नुको मुख्य कारण उच्च नीतिगत अनिश्चितता, व्यापार तनाव र अपेक्षा गरेभन्दा कम उपभोक्ता खर्च भएको आईएमएफले जनाएको छ । व्यापार शुल्कले २०२६ मा पनि वृद्धिमा असर पार्ने उसको अनुमान छ ।

आईएमएफले अब यस वर्ष अमेरिकामा आर्थिक मन्दीको ४० प्रतिशत सम्भावना रहेको बताएको छ, जुन गतवर्ष अक्टोबरमा गरिएको २५ को अनुमानभन्दा बढी हो ।

मंगलबार बिहान इन्स्टिच्युट अफ इन्टरनेसनल फाइनान्सले यस वर्षको पछिल्लो समयमा अमेरिकामा ‘अल्पकालीन मन्दी’ आउने अपेक्षा गरेको बताएको थियो, जसमा २०२५ को तेस्रो र चौथो त्रैमासिकमा नकारात्मक वृद्धि हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय