चितवन– पछिल्लो समय निरन्तर घटेको अण्डाको मूल्य विस्तारै उकालो लाग्न थालेको छ । लागत मूल्यसमेत पाउन नसक्दा चिन्तित बनेका किसानले अण्डाको मूल्य बढ्न थालेपछि केही राहत महसुस गरेका छन् ।

गत वर्ष प्रतिक्रेट (३० गोटा)को ५२५ रुपैयाँसम्म पुगेको अण्डाको मूल्य घटेर ३५० रुपैयाँ कायम भएको थियो । अहिले मूल्यमा वृद्धि भएर ४५० पुगेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार आजबाट लागू हुने गरी ठूलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट (३० वटाको) ४३०, मध्यमको ३८० र ‘एक्सएल’को ४५० रुपैयाँ कायम गरिएको छ । यसअघि ठूलो अण्डाको मूल्य ३५० मा झरेको थियो । संघको शनिबार सम्पन्न छलफलले अण्डाको मूल्य बढाउने निर्णय गरेको उनले जानकारी दिए ।

एक्सएल अण्डा फार्म मूल्य प्रतिपेटी (सात क्रेट) ३ हजार १४०, ठूलो अण्डा ३ हजार र मझौलाको २ हजार ६५० रुपैयाँ कायम गरिएको छ । योसँगै किसानलाई केही राहत मिल्ने उनले बताए । नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा पर्न आउँछ । अण्डाको मूल्य उच्च हुँदा ठूलो अण्डा प्रतिपेटी ३ हजार ६७५ रुपैयाँसम्म पुगेको थियो ।

सो समयमा किसानले उत्पादन मूल्य पाएको भए पनि पछिल्ला दिनमा अण्डाको मूल्य घट्दा किसानले लागत मूल्यसमेत पाउन गाह्रो हुने गरेको पोख्रेलको भनाइ छ । उनले भने, ‘गर्मीका कारण अण्डा उत्पादन कम हुनु र बजारमा माग बढ्नुले अण्डाको मूल्य बढेको हो ।’ उच्च गर्मीका कारण कुखुरामा विभिन्न खालका रोग देखिँदा उत्पादन निकै घटेको छ ।

संघका सचिव मदन पोखरेलका अनुसार अण्डा उत्पादन गर्ने कुखुरा घटेको र माग बढेको छ । ‘अहिलेको अवस्थालाई हेर्दा अण्डाको मूल्य क्रमशः बढ्ने देखिन्छ,’ उनले भने, ‘अण्डाको मूूल्य बढेपछि किसान उत्साहित बनेका छन् । अहिले दैनिक ३० लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएको छ ।’ नेपालमा कुखुरापालक किसानले लागत मूल्य नपाएपछि धेरै विस्थापित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय