काठमाडौं– चालु आर्थिक वर्ष २०८१–८२ को आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने र राष्ट्रिय अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रुपैयाँ बराबर पुग्ने अनुमान राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको छ ।

कार्यालयले सार्वजनिक गरेको वार्षिक राष्ट्रिय लेखा तथ्यांकमा आर्थिक वर्ष २०८१–८२ मा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को आकार ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । यो उपभोक्ता मूल्यमा आधारित भई मापन गरिएको जीडीपीको आकार हो ।

तथ्यांक कार्यालयले अघिल्लो वर्षको वास्तविक र गत वर्षको संशोधित जीडीपीको आकार पनि सार्वजनिक गरेको छ, जसअनुसार अघिल्लो आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ५३ खर्ब ६७ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै, गत आर्थिक वर्ष २०८०–८१ को अर्थतन्त्रको आकार ५७ खर्ब ९ अर्ब रुपैयाँ बराबर रहेको कार्यालयले जनाएको छ ।

त्यसैगरी, चालु आर्थिक वर्ष २०८१–८२ को आर्थिक वृद्धिदर आधारभूत मूल्यमा ३.९९ प्रतिशत र उपभोक्ता मूल्यमा ४.६१ प्रतिशत रहने अनुमान गरिएको छ । गत आर्थिक वर्ष नेपालले ३.९९ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको थियो ।

चालु आर्थिक वर्षमा कृषि क्षेत्रको योगदान ३.२८ प्रतिशत र गैरकृषि क्षेत्रको ४.२८ प्रतिशत रहने तथ्यांक कार्यालयले जनाएको छ । गत आर्थिक वर्ष २०८०–८१ मा कृषि क्षेत्रको वृद्धिदर ३.३५ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर ३.३६ प्रतिशत रहेको थियो । त्यस्तै, चालु आवमा प्राथमिक क्षेत्र ३.२५, द्वितीय क्षेत्रको ४.६५ प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर ४.२१ प्रतिशत रहने अनुमान गरिएको छ ।

निरन्तर दुई आर्थिक वर्ष नकारात्मक वृद्धिदर देखिएको उद्योग र निर्माण क्षेत्रमा यसवर्ष भने सकारात्मक वृद्धि देखिने अनुमान गरिएको छ । गत आर्थिक वर्ष उद्योग क्षेत्रमा २.०२ प्रतिशत र निर्माण क्षेत्रमा २.२० प्रतिशतको ऋणात्मक वृद्धि देखिएको थियो । तर यस वर्ष उद्योग क्षेत्र ३.७८ प्रतिशत र निर्माण क्षेत्र २.२१ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा सबैभन्दा धेरै वृद्धिदर विद्युत् तथा ग्यास क्षेत्रमा देखिने अनुमान गरिएको छ । विद्युत् क्षेत्रमा १३.८२ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ ।

त्यस्तै, चालु आर्थिक वर्ष २०८१–८२ मा प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ५१७ अमेरिकी डलर हुने प्रारम्भिक अनुमान गरिएको छ । त्यस्तै, गत आर्थिक वर्ष प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ४६७ अमेरिकी डलर रहने संशोधित अनुमान कार्यालयको छ ।

प्रमुख तथ्यांक अधिकारी मधुसुदन बुर्लाकोटीले कोभिड–१९ महामारी, जाजरकोट भूकम्प तथा बाढी पहिरोका कारण अघिल्ला वर्षहरुमा कमजोर देखिएको आर्थिक वृद्धिदरमा अहिले निरन्तर सुधारको गति देखिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय