जम्मू (भारत)/कराची (पाकिस्तान)– दक्षिण एसियाका आणविक अस्त्रसम्पन्न छिमेकी भारत र पाकिस्तानबीचको हानाहान झन् चर्किएको छ । भारतीय सेनाले बिहीबार राति र शुक्रबार बिहान भारतको सम्पूर्ण पश्चिमी सिमानामा पाकिस्तानी सशस्त्र सेनाले ड्रोन र अन्य हतियार प्रयोग गरी धेरै आक्रमण गरेको बताएको छ ।

गत महिना भारतीय कास्मिरमा हिन्दू पर्यटकमाथि भएको घातक आक्रमणको बदलास्वरूप भारतले बुधबार पाकिस्तानका धेरै स्थानका आक्रमण गरेको थियो । भारतले निशाना बनाएका ठाउँहरुलाई आतंकवादी शिविर भनेको छ । पाकिस्तानले भने भारतीय आरोप अस्वीकार गरेको छ । बुधबार भारतले गरेको हमलापछि पुराना शत्रुहरूबीच हानाहान चर्किएको हो ।

पाकिस्तानले भारतीय कास्मिरमा दुई साताअघि २६ जनाको ज्यान जाने गरी भएको आतंकवादी हमलामा आफ्नो संलग्नता अस्वीकार गरेको छ । तर त्यसयताको अवधिमा दुवै देशले सीमा गोली हानाहान र गोलाबारी गरेका छन् । एकअर्काको हवाई क्षेत्रमा ड्रोन र मिसाइलहरू पठाएका छन्, जसमा लगभग चार दर्जन मानिस मारिएका छन् ।

सन् १९९९ मा कास्मिरको कारगिल क्षेत्रमा दुई देशबीच भएको सीमित युद्धपछि यो सबैभन्दा घातक लडाइँ हो । सन् १९७१ को पूर्ण युद्धपछि पहिलोपटक भारतले पाकिस्तानी कास्मिरबाहिर पाकिस्तानका मुख्य प्रान्तहरूका सहरहरूलाई निशाना बनाएको छ ।

भारतीय सेनाले भनेको छ– पाकिस्तानी सेनाले कास्मिरमा रहेको वास्तविक सीमानामा धेरैपटक युद्धविराम उल्लंघन गरेको छ । कास्मिर भारत र पाकिस्तान दुवैतिर बाँडिए पनि दुवैले पूर्ण रूपमा आफ्नो दाबी गर्छन् ।

भारतीय सेनाले पाकिस्तानी ड्रोन आक्रमणहरूलाई प्रभावकारी रूपमा विफल पारिएको तथा युद्धविराम उल्लंघनको उचित जवाफ दिइएको बताएको छ ।

पाकिस्तानका सूचना मन्त्री अताउल्लाह तरारले भारतीय सेनाको बयान ‘आधारहीन र भ्रामक’ भएको र पाकिस्तानले भारतीय कास्मिर वा देशको सीमा बाहिरका क्षेत्रहरूलाई लक्षित गरी कुनै पनि ‘आक्रामक कार्य’ नगरेको बताएका छन् ।

इस्लामाबादले यसअघि भारतको पञ्जाब राज्यको पठानकोट सहर, कास्मिर उपत्यकाको श्रीनगर र राजस्थान राज्यको जैसलमेरमा आक्रमण गरेको अस्वीकार गर्दै ती आरोपहरू आधारहीन र राजनीतिक रूपमा प्रेरित भएको बताएको थियो ।

बिहीबार राति कास्मिरको साम्बा क्षेत्रमा ठूलो घुसपैठको प्रयास विफल पारिएको भारतको सीमा सुरक्षा बलले जनाएको छ, र शुक्रबार उरी क्षेत्रमा भारी गोलाबारी जारी रहेको एक सुरक्षा अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा बताए ।

‘उरी क्षेत्रमा भएको गोलाबारीमा धेरै घरहरूमा आगो लाग्यो र क्षति पुग्यो… गए राति भएको गोलाबारीमा एक महिलाको मृत्यु भयो र तीन जना घाइते भए,’ ती अधिकारीले भने ।

सिख धर्मावलम्बीहरूको पवित्र स्थल स्वर्ण मन्दिर रहेको भारतको सीमावर्ती सहर अमृतसरमा शुक्रबार दुई घण्टाभन्दा बढी साइरन बजेको र बासिन्दाहरूलाई घरभित्रै बस्न भनिएको प्राप्त समाचारमा उल्लेख छ । विमानस्थल बन्द भएपछि पर्यटकहरूले सडक मार्गबाट सहर छोडेकाले होटलहरूमा अकुपेन्सी तीव्र रूपमा घटेको बताइएको छ ।

‘हामी वास्तवमै बस्न चाहन्थ्यौं तर ठूलो आवाज, साइरन र बत्तीहरू गएका कारण हामीलाई रातभर निद्रा लागेन । घरमा रहेका हाम्रा परिवारहरू हाम्रो लागि चिन्तित छन् त्यसैले हामीले ट्याक्सी बुक गरेर यहाँबाट जाँदैछौं,’ नाम नबताएका एक बेलायती नागरिकले भने ।

अन्य सीमावर्ती क्षेत्रहरूले पनि शुक्रबार सावधानी अपनाएका छन्, जसमा गुजरातको भुज पनि समावेश छ, जहाँ अधिकारीहरूले पाकिस्तान सीमा नजिकका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सार्न पर्यटक बसहरू तयारी अवस्थामा राखिएको बताएका छन् ।

राजस्थानको बिकानेर क्षेत्रमा विद्यालय र कोचिङ सेन्टरहरू बन्द गरिएका छन्, र पाकिस्तान सीमा नजिकका बासिन्दाहरूलाई थप टाढा जान र आफन्तहरूसँग बस्ने वा सरकारले व्यवस्था गरेको आवास प्रयोग गर्ने विचार गर्न भनिएको छ ।

जम्मू सहरको शेर–ए–कास्मिर कृषि विज्ञान तथा प्रविधि विश्वविद्यालयका विद्यार्थी अन्साबले बिहान ४ बजेतिर (बिहीबार विस्फोटहरू अझ हिंस्रक र ठूलो भएको बताइन्
‘दुई–तीन मिनेटसम्म धेरै ठूला विस्फोटहरु भए, झ्यालहरू यसरी हल्लिन थाले कि तिनीहरू फुट्नेछन्,’ उनले भनिन्, ‘पछि धुँवै धुँवाले ढाक्यो ।’

अमेरिकादेखि चीनसम्मका विश्व शक्ति राष्ट्रहरूले दुवै देशलाई तनाव कम गर्न आग्रह गरेका छन् । अमेरिकी उपराष्ट्रपति जेडी भ्यान्सले बिहीबार तनाव कम गर्ने आह्वान दोहोर्याएका छन् ।

‘हामी यो चाँडो भन्दा चाँडो कम भएको चाहन्छौं । यद्यपि हामी यी देशहरूलाई नियन्त्रण गर्न सक्दैनौं,’ उनले फक्स न्युजसँगको एक अन्तर्वार्तामा भने ।

सन् १९४७ मा औपनिवेशिक ब्रिटिश शासनबाट स्वतन्त्र भएयता हिन्दू बहुल भारत र इस्लामिक पाकिस्तानबीचको सम्बन्ध तनावपूर्ण रहेको छ ।

मुस्लिम बहुल क्षेत्र कास्मिर शत्रुताको केन्द्रमा रहेको छ । भारत र पाकिस्तानबीच भएका हालसम्मका तीन ठूला युद्धमध्ये दुईवटा कास्मिरकै निहँमा भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय