मध्यविन्दु (नवलपरासी)– नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा गत वर्षसम्म विवाह, व्रतबन्ध र भोजभतेरका अवसरमा कोल्डड्रिंक्स, जुस र बोतल बन्द पेय पदार्थ अत्यधिक प्रयोग हुने गर्दथ्यो । तर अहिले परिस्थिति फेरिँदै गएको छ । गाउँदेखि सहरसम्म, साधारण भोजदेखि पार्टीप्यालेससम्म, मही र दहीको प्रयोग पुनः लोकप्रिय बन्दै गएको छ ।

पछिल्लो केही वर्षदेखि भोजभतेरमा मही तथा दहीको प्रयोग अनिवार्यजस्तै बन्दै गएको कावासोतीस्थित पानस पार्टी प्यालेसका सञ्चालक गुरु पोख्रेलले बताए । ‘पहिले गाउँघरमा मही र दही भोजमा अनिवार्य जस्तै थियो । अहिले पनि त्यसैगरी भोजमा मही र दही राख्न थालिएको छ,’ उनले भने ।

गाउँमा मात्र होइन, सहरबजारका पार्टी प्यालेसमा पनि अब मही विशेष पेयका रूपमा प्रस्तुत गरिन थालेको छ । पार्टी प्यालेसका सञ्चालक पोख्रेलका अनुसार पहिला चिसो पेय र बोतलको पेय राखिन्थ्यो । अहिले ग्राहक आफैंले मही माग्छन् । हामीले भोजभतेरको ‘मेनु’मा नै दही महीलाई समावेश गर्न थालेका छौं ।’

जिल्लामा पछिल्लो समय आयोजना गरिने सभासमारोह एवं औपचारिक कार्यक्रममा पनि महीको प्रयोग हुन थालेको छ । यस्ता कार्यक्रममा खाजाका रूपमा तयारी जुस वा चिया दिइने गरेकामा गर्मी मौसममा मही नै रोजाइमा पर्न थालेको देवचुली नगरपालिका–१० का राजु चापागाईंले बताए ।

‘स्वाद, स्वास्थ्य र संस्कृतिको संगम बनेको मही हिजोआज भोजभतेरसँगै औपचारिक कार्यक्रममा पनि राखेको देख्न पाइन्छ,’ उनले भने । विशेष गरी गर्मी मौसममा महीले चिसो र शीतल पार्ने हुँदा यसको प्रयोग बढ्दो छ । देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठका अनुसार मही प्रोटिन, क्याल्सियम र इलेक्ट्रोलाइट्सले भरिपूर्ण हुन्छ । भोजमा कोल्ड ड्रिंक्सको सट्टा मही राख्दा स्वास्थ्यका लागि लाभदायक हुने उनको भनाइ छ ।

माग बढ्न थालेपछि स्थानीय पशुपालक तथा दुग्ध उत्पादक किसानले दही र महीको आपूर्तिमा ध्यान दिन थालेका छन् । भोजभतेर तथा कार्यक्रमका लागि दैनिक दही र महीको माग आउने क्रम बढेको गौरादेवी नवीन कृषि तथा पशु फार्म कावासोती–६ का सञ्चालक गंगाधर न्यौपानेले बताए। ‘हिजोआज भोजमा एकैचोटि सयौं किलो दहीको माग आउँछ । यसले किसानलाई फाइदा पुगेको छ,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय